Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


शेयर बजारमा उच्च अंकको पहिरो


351
Shares

काठमाडौं ।

शेयर बजारमा आज पहिरो गएको छ । बालेन शाहको नेतृत्वमा सरकार गठन भएपछि निरन्तर घट्न थालेको बजार हिजो केही सम्हालिएकोमा आज पुनः पहिरो गएको हो ।

विहान खुलेदेखि ओरालो लागेको बजार परिसूचक नेप्से ७४ अंकले खस्दै २७ सय ७६ को विन्दूमा झरेको छ । विचौलिया दीपक भट्टलगायतमाथिको कारबाही प्रक्रिया अघि बढेको खबरसंगै शेयर बजारमा पहिरो गएको हो ।

भट्ट समूहले रकम दुरुपयोग गरेको भनिएका नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्स जस्ता ठूला कम्पनीहरुको शेयर विक्री चाप बढ्दा अन्य कम्पनीहरुमा पनि विक्री चाप बढेको हो । नेप्से २ दशमलव ६२ प्रतिशतले घट्दा २ सय ५५ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १३ वटाको मात्रै मूल्य बढेको छ ।

केही दिन अघि आइपीओ सूचिकृत भएका रिलायन्स स्पीनिङ मिल्स, सुपरखुदी हाइड्रो, रिजलाइन हाइड्रो, सूर्यकुण्ड हाइड्रो, भुजुङ हाइड्र र होटल फरेस्ट इन गरी ६ वटा कम्पनीको शेयर मूल्यमा भने आज पनि सकारात्मक सर्किट लाग्यो । तर नेपाल रिइन्स्योरेन्स कम्पनीका लगानीकर्ताले भने सवैभन्दा बढी ९ दशमलव ८४ प्रतिशत गुमाएका छन् ।

दिनभरीमा ३४७ वटा स्टकको ३ करोड २ लाख ९२ हजार कित्ता शेयर १२ अर्ब १० करोड ९५ लाख २५ हजार रुपैयाँ बढीमा खरिद विक्री भएको छ ।

कारोबार रकमका आधारमा आज हिमालय रिइन्स्योरेन्सको सर्वाधिक ७१ करोड ३१ लाख २६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।