काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेकाे छ।
वीरगन्जस्थित नारायणी क्रिमेट मैदानमा मंगलबार भएकाे खेलमा कोशीले दिएको १ सय ६३ रनको लक्ष्य पुलिसले ३३ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायो । पुलिसका कप्तान आरिफ शेखले नटआउट ८१, रशिद खानले नटआउट ७३ रन बनाएका थिए । पुलिसले ११ रन बनाउँदा ४ विकेट गुमाएको अवस्थामा पाँचौँ विकेटका लागि आरिफ र रशिदले नटआउट १ सय ५४ रनको साझेदारी गरेका छन् । कोशीको विपिन महतोले २ र दिपेश कँडेलले १ विकेट लिएका हुन् ।
यसअघि वीरगञ्जमा टस हारेर ब्याटिङ गरेको कोशीले ४२ ओभर ५ बलमा १ सय ६२ रन बनाउँदा सबै विकेट गुमायो । कोशीका कप्तान सुजन थपलियाले ४८ र सुमन श्रेष्ठले ४३ रन बनाए का छन्। पुलिसका दिनेश खरेलले ५ तथा ललित राजवंशी र सागर ढकालले २र२ विकेट लिए । यो जितसँगै पुलिसका ५ खेलमा ७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कोशी ५ खेलमा १ अङ्कसहित पुछारमा छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीको सहभागिता छ । खेलहरू काठमाण्डौको मूलपानी मैदान तथा मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा भइरहेका हुन् । प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्यानले जनाएकाे छ ।








प्रतिक्रिया दिनुहोस्