Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्न सरकारको निर्देशन


0
Shares

काठमाडाैं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ।

विद्यालय तथा उच्च शिक्षामा भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन हुने यस्ता कार्यक्रमहरू रोक्न मन्त्रालयले निर्णय गरेको हो। आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले यस्ता कक्षाहरूले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्ने भएकाले बन्द गर्ने निर्णय गरिएको बताएका छन्।

मन्त्रालयले २०८२ चैत १३ गते मन्त्रीस्तरीय निर्णय गर्दै २०८३ साल वैशाख १ गतेदेखि यस्ता सबै कार्यक्रम पूर्ण रूपमा बन्द गर्ने समयसीमा निर्धारण गरेको जनाएको छ। यस्ता कक्षाहरूले शिक्षामा समतामूलक पहुँचमा अवरोध पुर्‍याउनुका साथै अभिभावकमा अनावश्यक आर्थिक भार थप्ने निष्कर्षका आधारमा उक्त निर्णय लिइएको मन्त्रालयको भनाइ छ।

साथै, मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई यस्ता कार्यक्रम सञ्चालन भए–नभएको अनुगमन गर्न र सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।