Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


नारायणी नदीमा डुबेर दुई जना विद्यार्थीको मृत्यु


546
Shares

चितवन । चितवनमा परीक्षा दिन गएका दुई विद्यार्थीको नारायणी नदीमा डुबेर मृत्यु भएको छ ।

जिल्लाको भरतपुर महानगरपालिका–३ बाह्रघरेचोकस्थित मुनलाइट बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत भरतपुर–१६ शरणपुरका अन्दाजी १४ वर्षीय सनम रम्तेल र सोही स्थानका प्रशान्त क्षेत्रीको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीका अनुसार दुवै बालकलाई उद्दार गरी उपचारका लागि भरतपुर अस्पताल ल्याइएकोमा दिउँसो २ः४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार दुवै विद्यार्थी परीक्षा दिन बिहान विद्यालय पुगेका थिए । उनीहरूले विद्यालयमै झोला राखी कलम किन्न जाने भन्दै दिउँसो करिब १२ः५० बजे बाहिर निस्किएका थिए । त्यसपछि नजिकैको नारायणी नदीको भंगालोमा पौडी खेल्न पुगेका उनीहरू डुबेका हुन् ।

घटनाबारे जानकारी पाएपछि खटिएको विपद् व्यवस्थापन टोलीले दिउँसो करिब २ बजे उनीहरूको उद्दार गरी अस्पताल पुर्‍याएको थियो । घटनापछि स्थानीयवासी तथा अभिभावकमा शोक छाएको छ ।