झापा । मेचीनगर र गौरादह क्षेत्रमा गएराति आएको हावाहुरीसहितको वर्षाले ठूलो भौतिक क्षति पु¥याएको छ।
हावाहुरीले घर, गोदाम तथा पशुचौपायाका संरचनामा क्षति पु¥याउँदा लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ।

मेचीनगर नगरपालिका–१० आम्दा रोडस्थित सुरज चौधरीले सञ्चालन गरेको ‘दुर्गा कुचो खरिद तथा बिक्री केन्द्र’को गोदाममा हावाहुरीले जस्ताको छानो उडाएको छ। छानो उड्दा भित्र राखिएका कुचो भिजेर नष्ट हुँदा मात्रै करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

यस्तै, गौरादह नगरपालिकाका विभिन्न वडामा पनि हावाहुरीले जनजीवन प्रभावित बनाएको छ। गौरादह–४ चान्दु टोलका ऐरबहादुर त्रिखत्रीको एकतले घर र भान्साघर भत्किँदा करिब १ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
सोही स्थानका चन्द्रमणि खनालको घरको छानो उड्दा अन्नपातसहित करिब २ लाख ५० हजार रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ।

त्यस्तै, पार्वता खनालको दुईतले पक्की घरको छानो उड्दा करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने बिना परियारको बंगुर खोरको छानो उड्दा ६० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ। बालुबथानका दिलकुमार चेम्जोङको घरमा रहेको ट्रसको छानो उडाउँदा करिब २६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गौरादह क्षेत्रमा मात्रै कुल ६ लाख ७६ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। यद्यपि, घटनामा मानवीय तथा चौपाया क्षति भने नभएको जनाइएको छ। घटनाका सम्बन्धमा स्थानीय प्रहरी टोलीले थप विवरण संकलन तथा अनुसन्धान गरिरहेको जनाएको छ।








प्रतिक्रिया दिनुहोस्