कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ।
धार्मिक तथा साम्प्रदायिक सद्भाव बिगार्ने गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका–४ का २६ वर्षीय दुर्गेश यादव ९राज० र कपिलवस्तु नगरपालिका–२ का २२ वर्षीय पवनकुमार गुप्ता रहेका छन्। प्रहरीले दिएको जानकारी अनुसार उनीहरूले कोदहवा चोकस्थित सार्वजनिक सडकमा गुडिरहेको मोटरसाइकल रोकी त्यसमा सवार व्यक्तिहरूमाथि लाठी, हेलमेट तथा मुक्काले आक्रमण गरेका थिए। उक्त आक्रमणका क्रममा मोटरसाइकल र मोबाइलमा समेत क्षति पुगेको बताइएको छ।
घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। सोही भिडियोको आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले संलग्न ५–६ जनामध्ये यी दुई जनालाई पक्राउ गर्न सफल भएको जनाएको छ। पक्राउ परेकाहरूमाथि सार्वजनिक शान्ति खलल पारेको आरोपमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
यसैबीच, काली मन्दिरमा ढुंगामुढा गरी तोडफोड गरिएको घटनासँगै सामाजिक सञ्जालमार्फत घृणा र द्वेष फैलाउने कार्यमा संलग्न दुई जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा बुद्धभूमि नगरपालिका–६ का २१ वर्षीय मुस्ताक नाउ र कपिलवस्तु नगरपालिका–१ का २१ वर्षीय विनोद कहार रहेका छन्।
उनीहरूले विभिन्न जातजाति र समुदायबीचको सद्भाव खलल पुर्याउने उद्देश्यले सामाजिक सञ्जाल प्रयोग गरी भडकाउ सामग्री प्रसारण गरेको आरोप प्रहरीले लगाएको छ। यस सम्बन्धमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार, यसअघि नै उक्त घटनामा सार्वजनिक शान्ति खलल पारेको आरोपमा १० जनाविरुद्ध मुद्दा प्रक्रिया अघि बढाइसकिएको छ। प्रहरीले घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको पहिचान र खोजी कार्य जारी रहेको जनाएको छ भने सर्वसाधारणलाई अफवाह नफैलाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।








प्रतिक्रिया दिनुहोस्