Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


आठ महिनामा करिब ११ खर्बको व्यापार घाटा


117
Shares

काठमाडौं ।
चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्बको व्यापार घाटा बेहारेको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार उक्त अवधिमा १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाखको वैदेशिक व्यापार भएकोमा १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँ घाटा रहेको छ ।

पछिल्लो आठ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोडको आयात र एक खर्ब ९१ अर्ब ११ करोड २० लाख रुपैयाँ बराबरको निर्यात भएको विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १२ दशमलव ५४ र निर्यात २९ दशमलव ८३ प्रतिशतले बढेको छ ।

गत फागुनसम्ममा भारतसँगको व्यापार घाटा पाँच खर्ब ६७ अर्ब ३९ करोड छ । यस अवधिसम्ममा भारतबाट सात खर्ब २४ अर्ब ६ करोडको वस्तु आयात भएको छ भने एक खर्ब ५६ अर्ब ६६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । त्यस्तै, चीनसँग दुई खर्ब ७५ अर्ब ६६ करोड ७० लाख रुपैयाँको आयात र ९८ करोड ३३ लाखको निर्यात हुँदा दुई खर्ब ६४ अर्ब ६८ करोड ३६ लाख रुपैयाँको व्यापार घाटा रहेको छ ।

नेपालले बढी व्यापार घाटा बेहोरेका अरु मुलुकमा अर्जेन्टिना तेस्रो, संयुक्त अरब इमिरेट्स चौथो र इन्डोनेसिया पाँचौँ स्थानमा छन् । रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक, केन्यालगायतका मुलुकसंग भने ब्यापार नाफा रहेको छ । विभागका अनुसार यस अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ ।

यस अवधिमा ८२ अर्ब १० करोड ५१ लाखको डिजेल, ४३ अर्ब ८९ करोड ७३ लाखको पेट्रोल र ३७ अर्ब ३१ करोड ३७ लाख बराबरको एलपी ग्यास आयात भएको छ । नेपालले बढी निर्यात गरेका वस्तुमा भटमासको तेल पहिलो स्थानमा छ । पछिल्लो आठ महिनामा ७५ अर्ब ७७ करोड ४१ लाख बराबरको भटमास तेल निर्यात भएको छ ।