Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सुडानको अस्पतालमा आक्रमण : १३ बालबालिकासहित ६४ जनाको मृत्यु


338
Shares

एजेन्सी ।
अफ्रिकी मुलुक सुडानको एक अस्पतालमा भएको आक्रमणमा १३ बालबालिकासहित कम्तीमा ६४ जनाको मृत्यु भएको छ ।

देशको पश्चिमी डार्फर क्षेत्रमा अवस्थित एक अस्पतालमा गरिएको प्रहारमा झण्डै ९० जना घाइते भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पछिल्लो समय युद्धरत सुडानमा स्वास्थ्य संरचनामाथिको आक्रमण थप भयावह बन्दै गएको छ । यो आक्रमणले त्यहाँको मानवीय अवस्थामा गम्भीर असर पर्दै गएको संगठनले उल्लेख गरेको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस गेब्रेयससले पूर्वी डार्फरको अल डेइन शिक्षण अस्पतालमा भएको आक्रमणको निन्दा गदै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

आक्रमणपछि अस्पताल पूर्ण रूपमा निष्क्रिय बनेको भन्दै उहाँले घाइते र बिरामीहरूको उपचारमा गम्भीर संकट सिर्जना भएको बताउनुभयो ।

सुडान सन् २०२३ अप्रिलदेखि गम्भीर द्वन्द्वको चपेटामा फसेको छ । सेना र अर्धसैनिक बल समर्थन बलबीचको शक्ति संघर्ष युद्धमा परिणत हुँदा द्वन्द्वकै क्रममा नागरिक पूर्वाधार, विशेषगरी स्वास्थ्य संस्थाहरू बारम्बार निशानामा पर्दै आएको समाचारमा जनाइएको छ ।