काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार प्रकरणमा पूर्व सचिव केदारबहादुर अधिकारीसहित २१ जना र ठेकेदार कम्पनीविरुद्ध पुरक मुद्दा दायर गरेको छ ।
अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेकाहरुमा तत्कालीन सचिव केदारबहादुर अधिकारी, क्यानका ३ जना पूर्व महानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीसहित २१ जना रहेका छन् ।
प्राधिकरणका वरिष्ठ इन्जिनियरहरू, लेखा अधिकृतहरू र ठेकेदार कम्पनी चाइना सीएएमसी ईञ्जिनियरिङ लिमिटेडका नेपाल प्रतिनिधि विरुद्ध पनि मुद्धा दायर गरिएको छ । अख्तियारले उनीहरुबाट ४६ करोड १५ लाख ८४ हजार ४३४ रूपैयाँ बिगो असुल गर्नुपर्ने दाबी पनि गरेको छ । चिनियाँ एक्जिम बैंकको ऋण सहयोगमा निर्माण गरिएको विमानस्थ्लको इन्जिनियरिङ, प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन मोडलको सम्झौतामा परामर्शदाताका लागि २८ लाख अमेरिकी डलर पहिल्यै सुरक्षित गरिएको अख्तियारको दाबी छ ।
तर, प्राधिकरणका तत्कालिन अधिकारीहरूले उक्त बजेटबाट खर्च नगरी, राज्यलाई थप भार पर्ने गरी प्राधिकरणको छुट्टै आन्तरिक स्रोतबाट ५० करोड ३४ लाख ४० हजार ६९६ रूपैयाँको लागत अनुमान स्वीकृत गराई दोहोरो खर्च गराएको अभियोग पनि लगाइएको छ । चिनियाँ ठेकेदार कम्पनीले गर्नुपर्ने काममा पनि लागत बढाउन मूल्य तालिकामा फेरबदल गरिएको पनि अभियोगपत्रमा उल्लेख छ ।
डिजाइनमा परिमाण घटेका सामानहरूको मूल्य नघटाई र थप सामानहरूको मूल्य अस्वाभाविक रूपमा बढाई भुक्तानी लिइएको अनुसन्धानबाट खुलेको पनि अख्तियारको दाबी छ ।








प्रतिक्रिया दिनुहोस्