Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


कुखुरापालन कृषिको एक बलियो खम्बा


104
Shares

काठमाडौं ।
कुखुरापालन व्यवसायले नेपालको अर्थतन्त्रमा वार्षिक ६० अर्बभन्दा बढीको योगदान पु¥याएको सार्वजनिक भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सावर्जनिक गरेको नेपाल व्यवसायीक कुखुरा पालन सर्वेक्षण २०८१/८२ का अनुसार नेपालको कृषि क्षेत्रमा कुखुरापालन व्यवसाय एक बलियो खम्बाको रूपमा स्थापित भएको हो । तथ्याङ्क अनुसार, नेपालमा वार्षिक रूपमा करिब ११ करोड ७१ लाख ब्रोइलर कुखुरा पाल्ने गरिएको छ ।

जसमध्ये १० करोडभन्दा बढी कुखुरा बिक्री हुने गर्दछन् । यसबाट मात्रै ५७ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने गरेको छ । वार्षिक रूपमा देशभर २५ करोड ८६ लाख २६ हजार ३४० केजी ब्रोइलर कुखुराको मासु उत्पादन हुने गरेको छ ।

कुखुरा उत्पादन र आम्दानी दुवै हिसाबले बागमती प्रदेश नेपालकै पहिलो स्थानमा रहेको छ । यस्तै, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कोइलर तथा गिरिराज जातका कुखुराबाट राम्रो आम्दानी भइरहेको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणका अनुसार, ब्रोइलर कुखुरालाई औसत ४३ दशमलब ७ दिन पालेर सरदर २ दशमलब ६ केजी तौल पुगेपछि बिक्री गर्ने गरिएको छ । यद्यपि पालिएका कुल कुखुरामध्ये करिब १० दशमलब ४ प्रतिशत (१ करोड २२ लाख) कुखुराको मृत्यु हुने गरेको पाइएको छ । साथै, करिब ११ लाख ७६ हजार कुखुरा घरायसी उपभोगमा प्रयोग हुने गरेका छन् ।

कुखुरापालन क्षेत्रले नेपालको ग्रामीण तथा सहरी अर्थतन्त्रमा ठूलो रोजगारी र आम्दानीको अवसर सिर्जना गरिरहेको यस तथ्याङ्कले पुष्टि गरेको छ ।