Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


प्रकाश सपूत पुनः कलाकारितामा फर्किने


780
Shares

काठमाडौँ । कलाकार प्रकाश सपूत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बन्न नसकेपछि पुनः आफ्नै पेशा कलाकारितामा फर्किने भएका छन्।

उनले शनिबार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै राजनीतिमा प्रवेश गर्ने निर्णय सचेत रूपमा लिएको भए पनि अहिलेका लागि आफू सिर्जनात्मक क्षेत्रमा नै केन्द्रित हुने बताएका छन्।

सपूतले देशका लागि पाँच वर्ष समर्पित गर्ने सोचका साथ राजनीतिमा लागेको उल्लेख गर्दै प्रतिनिधिसभामा पुगेर विशेष उद्देश्य पूरा गर्ने योजना रहेको बताएका थिए। उनले सांसद भएमा रास्वपालाई नयाँ राजनीतिक शक्तिका रूपमा स्थापित गर्न सहयोग गर्ने, बालेन शाहको नेतृत्वमा स्थिर सरकार निर्माणमा साथ दिने र उत्पीडित समुदायका मुद्दालाई सशक्त रूपमा उठाउने लक्ष्य राखेका थिए।

निर्वाचन परिणामपछि समानुपातिक सूचीमा नपरेकोप्रति प्रतिक्रिया दिँदै उनले छोटो तयारीमै राम्रो नतिजा ल्याएको विद्यार्थीझैँ आफू सन्तुष्ट रहेको बताए। ‘मेरो कुनै गुनासो छैन, तर मलाई सदनमा देख्न चाहनेहरूका लागि दुःख लागेको छ,’ उनले भने।

सांसद बन्ने तयारीस्वरूप विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरेको उल्लेख गर्दै उनले विशेषगरी दलित अधिकार, मौलिक संस्कृति र पर्यटनका विषयमा ठोस नीति निर्माण गर्ने योजना बनाएको जानकारी दिए।

सपूतले पार्टी सभापति रवि लामिछानेसँग भएको संवाद पनि सार्वजनिक गर्दै लामिछानेले पार्टीभित्रै रहेर योगदान गर्न वा स्वतन्त्र रूपमा सिर्जनात्मक माध्यमबाट खबरदारी गर्न सुझाव दिएको बताएका छन्।