Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदलाई आज प्रमाणपत्र दिंदै


143
Shares

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई बिहीबार प्रमाणपत्र वितरण गर्ने भएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले बिहीबार बिहान साढे ११ बजे आयोग परिसरमा प्रमाणपत्र वितरण गर्ने बताउनुभएकाे हाे । राजनीतिक दलकोतर्फबाट छनोट भई पेश भएका उम्मेदवारको विवरण आयोगले सार्वजनिक गरिसकेको छ । प्रमाण पत्र वितरणसँगै नयाँ संसदको औपचारिक कार्यभार शुरु गर्ने बाटो खुल्ने भएकाे हाे । प्रतिनिधि सभामा निर्वाचित सम्पूर्ण सांसदहरूको पद तथा गाेपनीयताकाे शपथ ग्रहण भने आगामी चैत १२ गते गर्ने तयारी भइरहेको स‌सद सचिवालयले जनाएकाे छ । गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न ६ राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार/चार सिट पाएका हुन् । कूल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १ सय ६५ र समानुपातिक निर्वाचन प्रणालीमार्फत १ सय १० जना निर्वाचित हुने व्यवस्था रहेकाे छ ।