Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


अनुदानमा विद्युतीय चुलो वितरण, उपभोक्तालाई ठूलो राहत


4.7k
Shares

केशव कोइराला, बर्दिया ।

बर्दियाको राजापुर नगरपालिकाले अनुदानमा विद्युतिय चुलो वितरण सुरु गर्दै उपभोक्तालाई राहत दिएको छ। ३ हजार ७ सय ६७ रुपैयाँ ४२ पैसा लागत पर्ने चुलो उपभोक्ताले मात्र ८ सय ६५ रुपैयाँमा प्राप्त गरेका छन्।

नगरपालिकाले एक औपचारिक कार्यक्रमबीच यसअघि माग फारम भरेका उपभोक्तालाई चुलो हस्तान्तरण गरेको जनाएको छ। पछिल्लो समय देखिएको ग्यास अभावको समस्याबाट प्रभावित नागरिकलाई सहजता प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा बोल्दै नगर प्रमुख दिपेश थारूले विद्युतिय चुलो प्रयोगले घरायसी खर्च घट्नुका साथै आयातित इन्धनमा निर्भरता कम हुने बताउनुभयो। उहाँले देशको पैसा देशभित्रै राख्ने र वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ यस्तो अभियान अघि बढाइएको स्पष्ट पार्नुभयो। साथै सबै नागरिकलाई विद्युतिय चुलो प्रयोग गर्न आग्रह समेत गर्नुभयो।

कार्यक्रममा उप–प्रमुख मनकला कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, वडा नम्बर ४ का अध्यक्ष विदुर पोख्रेल लगायत नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको पञ्जिकरण शाखाका सहायक रबिन सापकोटाले जानकारी दिनुभयो।
विद्युतिय चुलो पाएपछि उपभोक्ताहरू खुसी देखिएका छन्।

ग्यास अभावका कारण भोग्दै आएको समस्या समाधान हुने विश्वास व्यक्त गर्दै उनीहरूले यस कार्यक्रमले दैनिक जीवन सहज बनाउने बताएका छन्। नगरपालिकाले पहिलो चरणमा ६ सय उपभोक्तालाई विद्युतिय चुलो वितरण गरेको जनाएको छ भने आगामी दिनमा थप नागरिकसम्म कार्यक्रम विस्तार गर्ने तयारी गरिएको छ।