काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीलाई जनताले गरेको ऐतिहासिक विश्वासलाई जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।
रास्वपाले आयोजना गरेको सांसदहरुको अभिमुखिकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताले अत्याधिक भरोसा गरेर अत्यन्तै बलियो वैधता दिएको बताउनुभयो । रास्वपाप्रति जनतामा अत्याधिक आशा रहेकोले त्यसलाई कार्यान्वयनमार्फत न्याय गर्नुपर्ने उहाँको भनाई छ ।
उहाँले जनतामा विकास निर्माण र सुशासनको ठूलो हुटहुटी रहेको बताउनुभयो । त्यसलाई पूरा गर्न रास्वपालाई स्पष्ट म्याण्डेड दिएर पठाएको उहाँको भनाई छ । अब जनताको आकांक्षा र भरोसाबाट भाग्ने छुट पार्टिलाई नभएको उहाँले बताउनुभयो । उहाँले २०१५ सालको पहिलो लोकतान्त्रिक निर्वाचनसँग तुलना गर्दा अहिलेको उपलब्धि ठूलो भएको बताउनुभयो । त्यसबेला विपी कोईराला नेतृत्वको नेपाली काँग्रेसले स्पष्ट दुईतिहाई बहुमत पाएपनि लोकप्रिय मत ३८ प्रतिशत मात्रै पाएको उहाँको भनाई छ ।
हालैको निर्वाचनमा रास्वपाले करिव दुईतिहाइ सिटसहित ४८ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको भन्दै उहाँले यसलाई अभूतपूर्व जनादेश भएको बताउनुभयो । उपसभापति वाग्लेले जनादेशलाई जोगाउन विगतका सरकारहरूको अस्थिरताबाट पाठ सिक्नुपर्ने आवश्यकता औंल्याउनुभयाे ।
२०४८ सालमा नेपाली काँग्रेसको बहुमत सरकार आन्तरिक विवादका कारण पूरा कार्यकाल टिक्न नसकेको उहाँको भनाई छ । २०६४ सालमा माओवादी नेतृत्वको सरकार छोटो समयमै विघटन भएको र २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्पष्ट बहुमत पनि दीर्घकालीन रूपमा टिक्न नसकेको उहाँले स्मरण गर्नुभयो ।
उहाँले यस्तो बलियो जनादेश नेपालमा अभूतपूर्व रहेको उल्लेख गर्दै यसलाई जोगाउन विगतका कमजोरीबाट सिक्दै स्थायित्व र सुशासनतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हालै भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन ऐतिहासिक रह्यो ।
त्यो ऐतिहासिक जनमतलाई न्याय गर्ने जिम्मेवारीवोध हामी सबैमा हुनुपर्छ । २००७ सालपछि हामी लोकतान्त्रिक यात्राको उकाली ओरालीमा आरोहअवरोह खेप्दै आएका छौँ । पहिलो लोकतान्त्रि निर्वाचन २०१५ सालमा भयो, अहिले हामीले हासिल गरेको उपलब्धि त्यो २०१५ सालकै लोकतान्त्रिक निर्वाचनसँग दाँज्न सकिन्छ । तर त्यो भन्दा पनि दुई कदम अगाडी हाम्रा उपलब्धिहरु लिपिवद्ध भएका छन् । २०१५ सालमा विपी कोईराला पहिलो प्रधानमन्त्री हुनुभयो, त्यतिबेला १०९ वटा स्थानमा निर्वाचन भएका थिए । उहाँले नेतृत्व गर्नुभएको दलले ७४ सिट ल्याएको थियो ।
स्पष्ट दुईतिहाई ल्याएको पार्टीले पनि पपुलर भोट ३८ प्रतिशत थियो । अहिले हाम्रो स्थिति लगभग दुईतिहाई छ, १८२ सिट । तर पपुलर भोट हामीले ५१ लाख नघाएर ४८ प्रतिशत भोट हामीले पाएका छौँ । यो जनादेशलाई असाध्यै गह्रौँ बैधता हामीले लिएका छौँ । यसलाई समालेर, जोगाएर यो आशा, भरोसालाई न्याय गर्ने त्यो ऐतिहासिक जिम्मेवारीबोध हामी सबैमा हुनुपर्छ । २०४८ सालमा स्पष्ट नेपाली काँग्रेसले स्पष्ट बहुमत ल्याएको थियो, आर्थिक सुधारका नितिहरु पनि राम्रा थिए तर आन्तरिक खिचातानी व्यवस्थापन गर्न नसक्दा पुर्ण ५ वर्ष कार्यकाल टिक्न सकेन ।
द्वन्द्वलाई व्यवस्थाप गर्दै २०६४ सालमा पनि अर्को यस्तै जनादेश पाएको अर्को सरकार आयो तर माओवादीले ९ महिना पनि सरकार टिकाउन सकेन । २०७४ मा एमाले र माओवादी मिलेर स्पष्ट बहुमत थियो, त्यो पनि लामो समय टिक्न सकेन । तीन वर्षपछि त्यो बिग्रियो । त्यसकारण हामीलाई जुन जनादेश आएको छ, स्कोपको हिसाबले, म्याण्डेडका हिसाबले नेपालमा नै अभुतपुर्व यो हो । यसलाई जोगाउन उहाँहरुबाट हामीले पाठ सिक्नुपर्छ ।’
उहाँले नवनिर्वाचित सांसदहरुलाई जिम्मेवारका साथ प्रस्तुत हुन पनि सुझाव दिनुभयो । उहाँले पारदर्शी जीवनशैली अपनाउन, जथाभावी अभिव्यक्ति नदिन, जनताको गुनासालाई ध्यान दिन आग्रह गर्नुभयो । उहाँले कानुन तथा नेपालको संविधानलाई गहिरोसंग अध्ययन गर्न पनि सांसदहरुलाई सुझाव दिनुभयो ।








प्रतिक्रिया दिनुहोस्