काठमाडाैं । पाकिस्तानका पूर्वकप्तान सरफराज अहमदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।
साेही निर्णयसँगै ३८ वर्षीय अहमदको करिब २० वर्षको क्रिकेट करियर समाप्त भएको हाे । सरफराजको कप्तानीमा पाकिस्तानले सन् २०१७ मा आईसीसी च्याम्पियन्स ट्रफी र सन् २००६ मा यू- १९ विश्वकप जितेको थियो । अहमद इमरान खानपछि पाकिस्तानका लागि ५० ओभरको आईसीसी उपाधि जित्ने पहिलो कप्तान पनि थिए । खानकाे कप्तानीमा पाकिस्तानले सन् १९९२ मा एकदिवसीय क्रिकेट विश्वकपकाे उपाधि जितेकाे थियाे ।
अहमदले ५४ टेस्ट, १ सय १७ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले टेस्टमा ४ शतकसहित ३ हजार ३१ रन, एकदिवसीयमा २ शतकसहित २ हजार ३१५ रन र टी–२० अन्तर्राष्ट्रियमा ३ अर्धशतकसहित ८ सय १८ रन बनाएका छन् ।त्यसैगरी अहमदले १३ टेस्ट, ५० एकदिवसीय र ३७ टी–२० अन्तर्राष्ट्रिय गरी १ सय खेलमा पाकिस्तानको कप्तानी गरेका हुन् ।








प्रतिक्रिया दिनुहोस्