राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले नसोचेको मत दिएपछि नेताहरु हौसिएका छन् । झण्डै दुई तिहाईको मत दिएका जनताले रास्वपाबाट सोही अनुसारको अपेक्षा पनि राखेका छन् ।
बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेर चुनावमा गएकाले कसैले नसोचेको परिणाम रास्वपाले पाएको हो । रास्वपाबाट जनताले ठूलो परिवर्तनको अपेक्षा पनि राखेका छन् । तर रास्वपामा भने बालेनलाई प्रधानमन्त्री बनाउनेका लागि पार्टीको विधान नै संशोधन गर्नुपर्ने अवस्था छ ।
यस पटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ‘अब कि बार बालेन सरकार’ को नारा लिएर जनतामा गएको थियो । बालेन शाहलाई नै प्रधानमन्त्री बनाउने भएपछि जनतामा उत्साहजनक सकारात्मक सन्देश गएको थियो । सोही अनुसार बालेन शाह निर्वाचनमा होमिए । उनले देशका अधिकांश क्षेत्रमा पुगेर मतदाताहरुलाई प्रत्यक्ष भेटे । जसको प्रभाव मतदातामा अपेक्षा भन्दा बढी प¥यो । यो प्रभाव फागुन २१ मा भएको निर्वाचन मार्फत मत पेटिकामा व्यक्त पनि भईसकेको छ ।
जनताले रास्वपाको अपेक्षा भन्दा बढी नै मत दिएर स्थायी सरकार गठनको बाटो खोलिदिएका छन् । इतिहासको रेकर्ड नै ब्रेक गर्नेगरी जनता मत रास्वपातिर खनिएको छ । यसको मुख्य सन्देश भनेको पुराना दलका गतिविधि सह्य नहुनु, रास्वपाले तिनलाई विस्थापित गर्ने भन्ने नै हो । जनताले आफूले गर्नुपर्ने कर्तव्य पूरा गरिसकेका छन् । रास्वपामाथि अब सरकार गठनदेखि कामसहितको परिणाम दिनुपर्ने मुख्य चुनौतीहरु छन् । अबको मुख्य रोडम्याप भनेको सरकार गठन नै हो । त्यसका लागि सरकारको नेतृत्वको विषयमा अहिले बहस चलिरहेका छन् । रास्वपाको विधानले प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने कुरा किटान गरेकाले बालेनका लागि केही समस्या देखिएको छ ।








प्रतिक्रिया दिनुहोस्