Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


हलेसीमा निर्माणाधीन नगर अस्पताल अलपत्र


195
Shares

सविना अछामे,खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित निर्माणाधीन नगर अस्पताल अलपत्र परेको छ । निर्माणमा संलग्न कम्पनीले खटाएको कामदारले काम छाडेर गएपछि भवन निर्माण अलपत्र परेको हो ।

हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार निर्माणमा संलग्न कम्पनीले कामदारलाई पैसा नदिएकाले छाडेर हिडेको हो ।

कामदारले गत मङ्सिरसम्म काम गरेको तर पैसा नपाएपछि छाडेर हिडेको गिरीले बताए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका ३ सय ९६ वटा अस्पताल भवन एकसाथ शिलान्यास गरेको भवनमध्ये उक्त भवन अलपत्र परेको गिरीले सुनाए । उक्त भवनको ठेक्का नमुना हिमालयन जेवी विराटनगरले लिएको हो ।

संघीय सरकारको ११ करोड ९९ लाख १९ हजार ६ सय २९ रूपैयाँ (भ्याट बाहेक) बजेटमा २०८० साउन ७ गतेसम्म सक्ने गरी २०७८ साउन ७ गते उक्त निर्माण कम्पनीले सम्झौता गरेको थियो । उक्त भवन बेलामा नबनेपछि पटक–पटक निर्माणअवधि थपिदै आएको छ । पछिल्लो अवधिमा २०८२ असार २९ गतेको कार्यपालिकाको बैठकले तेश्रो पटक २०८३ साउन ७ गतेसम्मका लागि म्याद थप गरेको छ । उक्त भवनको बेसको पिलर मात्र उठाएको छ ।

अहिलेसम्म करिब ३४ प्रतिशत बराबरको ४ करोड भुक्तानी भएको हलेसी तुवाचुङ नगरपालिकाका लेखा अधिकृत नवराज कटवालले बताए । उक्त रकम सुरुको रनिङ बिलको भुक्तानी गरिएको हो । त्यसपछि कामै अलपत्र परेपछि भुक्तानी गरिएको छैन ।

भवन अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही गर्नु पर्ने जग्गादाताहरूले बताएका छन् । अस्पताल बन्छ र उपचार सुविधा पाइन्छ भनेर जग्गा दिएको तर अहिलेसम्म नबकेकोप्रति दुःख लागेको जग्गादाता प्रकाशचन्द्र गिरीले बताएका छन् । काम अलपत्र पारेकोप्रति नगरपालिका, वडा र सम्वन्धित निर्माण कम्पनीलाई गुनासो राख्दा बेवास्ता गरिएको गिरीले दुःखेसो पोखेका छन् । यसमा संलग्नलाई कारबाही गर्नु पर्ने समेत गिरीको भनाइ छ । ‘अहिलेसम्म अस्पताल बनेन, नगरपालिका, वडा र सम्वन्धित ठेकेदारलाई समेत गुनासो गर्दा बेवास्ता गरियो’ गिरीले भने–‘यसमा संलग्नलाई बारबाही हुनु पर्छ ।’

काम अलपत्र पारेपछि सम्वन्धित निर्माण कम्पनीलाई ताकेता गर्दा समेट अटेर गरेकाले कारबाही प्रक्रिया बढाउने तयारी गरेको प्रवक्ता गिरीले सुनाएका छन् । सुरुमा डिपिआर अनुसार फिल्डमा जग्गा नभएकाले डिपिआर परिवर्तन गर्नु पर्ने हुदा निर्माणमा ढिलाइ भए पनि पछिल्लो समय डिपिआर बनिसकेपछि पनि काम नगर्दा समस्या आइपरेको गिरीले सुनाए ।

यसका साथै भवन निर्माणको थालनीमै पिलरहरू बाङ्गिएको र त्यसलाई भत्काएर अर्को पिलर बनाउन लगाइएको समेत गिरीले जनाए । भवनको तल्लोपट्टिको ६ वटा पिलर बाङ्गिएपछि भत्काएर बनाउन लगाइएको हो । उक्त भवन निर्माण थालेपछि पार्किङ, गेट, शव गृह, क्यान्टिन, फार्मेसी लगायतको संरचना नमिलेपछि डिपिआर परिवर्तन गर्नु परेको गिरीको भनाइ छ । निर्माणमा संलग्न सुशिल रेग्मीले भने अब केही दिनमै काम सुरु गर्ने बताएका छन् ।