Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


नेपालको भिसा नीतिमा हेरफेर


403
Shares

काठमाडौं ।
नेपाल सरकारले आफ्नो भिसा नीतिमा हेरफेर गर्दै इरानी नागरिकका लागि ‘अन–अराइभल’ भिसा सुविधा बन्द गर्ने निर्णय गरेको छ ।

अध्यागमन विभागका अनुसार अबदेखि इरानका साधारण राहदानीवाहक नागरिकहरुले नेपाल भ्रमणमा आउनुअघि अनिवार्य रुपमा विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगबाट भिसा प्राप्त गर्नुपर्नेछ ।

सरकारी र कूटनीतिक राहदानीवाहक इरानी नागरिकका हकमा भने पुरानै व्यवस्था कायम रहने विभागले स्पष्ट पारेको छ । यो व्यवस्थासँगै नेपाल आइपुगेपछि विमानस्थल वा प्रवेश नाकामै भिसा नपाउने देशहरुको संख्या अब १३ पुगेको छ । यसअघि नै नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकहरुलाई नेपालले अन–अराइभल भिसा नदिने सूचीमा राखेको थियो । सुरक्षा संवेदनशीलता र अध्यागमन व्यवस्थापनलाई थप चुस्त बनाउन सरकारले यो कदम चालेको हो ।

यसैबीच, राहदानी विभागले राहदानी वितरण प्रणाली एक हप्ता बन्द हुन सक्ने जनाएको छ । पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक हप्तासम्म सेवा अवरुद्ध हुन सक्ने विभागले जनाएको हो ।

विभागले एक सूचना जारी गर्दै जिल्ला एवं इलाका प्रशासन तथा विदेशमा रहेका नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुनसक्ने जनाएको छ ।