काठमाडाैं ।
भारतको सर्वोच्च अदालतले १३ वर्षदेखि कोमामा रहेका एक विरामीलाई इच्छा मृत्युका लागि अनुमति दिने निर्णय गरेको छ ।
सन् २०१३ को रक्षा बन्धनका दिन घरको चौथो तलाबाट खसेर कोमामा पुगेका हरिश राणालाई उनका बाबु आमाको निवेदनका आधारमा भारतीय सर्वोच्च अदालतले इच्छामृत्युका लागि अनुमति दिएको हो ।
भारती संविधानले कुनै पनि ब्यक्तिलाई इच्छा मृत्युका लागि अनुमति नदिने भएपनि सर्वोच्चका न्यायाधीशहरुले हरिशका बाबु आमाको निवेदनमाथिको सुनुवाईबाट विरामीलाई बचाउन सकिने कुनै उपाय बाँकी नरहेको निष्कर्ष निकाल्दै मेडिकल वोर्डको समेत सिफारिसमा इच्छा मृत्युका लागि अनुमति दिने निर्णय गरेका हुन् ।
१३ वर्ष अघि घरको चौथो तलाबाट खसेपछि टाउको र ढाडमा लागेको गम्भीर चोटका कारण कोमामा पुगेका हरिशको त्यसपछि होस नफर्किएको र यस बीचमा भारतमा उपलब्ध सवै स्वास्थ्य सेवामा उपचारका लागि प्रयास भएको हरिशका बाबु अशोक र आमा निर्मला राणाले बताएका छन् ।
छोराको उपचारका क्रममा बस्ने घर समेत विक्री गर्नु परेको र अब उपचारका लागि खर्च जुटाउने अवस्था समेत नहुँदा इच्छा मृत्युका लागि सर्वोच्च अदालतमा निवेदन दिएको उनीहरुले बताएका छन् । सर्वोच्च अदालतले हरिशको इच्छा मृत्यु सहज बनाउन पनि भारतीय मेडिकल वोर्डलाई आदेश दिएको छ ।







प्रतिक्रिया दिनुहोस्