Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


नेपाल एयरलाइन्सले आजदेखि काठमाडाैं-दुबई-काठमाडाैं विशेष उडान गर्दै

टिकट प्रमाणीकरण गरेका यात्रुलाई मात्रै विमानस्थल जान अनुरोध

1.4k
Shares

काठमाडाैं । नेपाल एयरलाइन्सले प्रभावित यात्रुको सहजताका लागि बुधबारदेखि काठमाडाैं-दुबई–काठमाडाैं विशेष उडान गर्ने भएको छ ।

एयरलाइन्सले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावले विगत केही दिनदेखि उडान प्रभावित भएकोमा यात्रुलाई गन्तव्यमा पुर्‍याउन विशेष उडानको व्यवस्था गरेको हो । एयरलाइन्सले निकालेको सूचना अनुसार काठमाडाैं–दुबई उडान बुधबार राति सवा ११ बजे हुने भएकाे छ। साथै दुबई–काठमाडाैं उडान भने बिहीबार अपराह्न ४ बजेर १० मिनेटमा गर्ने तालिका रहेकाे एयरलाइन्सले जनाएकाे हाे ।

एयरलाइन्सले गत फेब्रुअरी २८ तारिखदेखि मार्च तारिखसम्म टिकट लिएर पनि यात्रा गर्न नसकेका यात्रुले बुधबार रातिको उडानमा यात्रा गर्न चाहेमा आफ्नो टिकट इमेलमार्फत पठाई पुनः प्रमाणीकरण गराउनुपर्ने जनाएकाे छ। एयरलाइन्सले टिकट प्रमाणीकरण गरेका यात्रुलाई मात्रै विमानस्थल जान अनुरोध गरेको हाे। पश्चिम एशियाको तनाव केही मत्थर भएपछि अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरूले मंगलबारदेखि काठमाडाैंका लागि आंशिक उडान पुनः शुरू गरेका छन् ।

अमेरिका–इरानबीच युद्ध शुरू भएपछि यात्रु तथा चालक दलको असुरक्षा भएको भन्दै संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनले आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेका थिए । त्यसकाे प्रत्यक्ष असर नेपालमा पनि परेकाे हाे । जसका कारण नेपालका बढी अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदै आएका छन् ।