Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


लमजुङमा रास्वपाका धर्मराज केसी विजयी


182
Shares

खुशी माया गुरुङ, लमजुङ । लमजुङमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसी विजयी भएका छन्।

उनले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।

लमजुङमा खसेको कुल ७५ हजार ४६० मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ३३ हजार ८९८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

केसीले नेकपा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरुङलाई १७ हजार २२ मतान्तरले पराजित गरेका हुन्।२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा करिब ९ हजार मत ल्याएका केसी त्यसबेला भने पराजित भएका थिए। यसपटक भने मतदाताको उल्लेखनीय समर्थन पाउँदै उनी विजयी हुन सफल भएका छन्।

लमजुङमा प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको छ। यस निर्वाचन क्षेत्रमा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी मैदानमा थिए।मुख्य प्रतिस्पर्धा नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङ, नेपाली कांग्रेसका गमप्रसाद गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी र नेपाल कम्युनिष्ट पार्टीका हरिजंग तामाङबीच भएको थियो। लमजुङमा यस परिणामसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले महत्वपूर्ण जित हासिल गरेको छ।