Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


झापामा यस वर्ष मतदान प्रतिशत घट्याे


481
Shares

झापा ।

मतदाताको संख्या बढ्दै गए पनि झापामा भने मतदान प्रतिशत घट्दो क्रममा देखिएको छ। यस पटक सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा अघिल्लो निर्वाचनको तुलनामा कम मत खसेको प्रारम्भिक विवरणले देखाएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार अन्तिम विवरण आउन बाँकी रहे पनि प्रारम्भिक अनुमानमा करिब ६५ प्रतिशत मत खसेको जनाइएको छ। निर्वाचनअघि भने नयाँ मतदाता थपिएकाले मतदान दर बढ्ने अपेक्षा गरिएको थियो।

यस वर्षको निर्वाचनमा करिब ५० हजार नयाँ मतदाता थपिएपछि झापामा कुल मतदाता संख्या सात लाख १३ हजार ५३७ पुगेको छ। मतदाता संख्या बढे पनि मतदानमा अपेक्षित उत्साह नदेखिएको अधिकारीहरूको भनाइ छ।

यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा झापामा ७०.४७ प्रतिशत मतदान भएको थियो। त्यसबेला कुल ६ लाख ४६ हजार २३४ मतदातामध्ये चार लाख ५५ हजार ४१७ जनाले मताधिकार प्रयोग गरेका थिए।

त्यसअघि २०७४ सालको निर्वाचनमा झापामा पाँच लाख ८५ हजार १६६ मतदाता रहेकामा करिब ७२ प्रतिशतले मतदान गरेका थिए। पछिल्ला निर्वाचनका तथ्यांकले झापामा मतदाता संख्या बढ्दै जाँदा पनि मतदान दर भने क्रमशः घट्दै गएको देखिएको छ।