Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


आईसीसी टी-२० विश्वकप: पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्डले दक्षिण अफ्रिकाकाे सामना गर्दै

उच्च मनाेबलका साथ दक्षिण अफ्रिका मैदानमा

247
Shares

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा बुधबार न्युजिल्यान्डले दक्षिण अफ्रिकाकाे सामना गर्ने भएकाे छ।

सेमिफाइनलको यो पहिलो खेल भारतको इडेन गार्डेन मैदानमा बुधबार बेलुका सवा ७ बजेदेखि शुरु हुने भएकाे हाे। समूह चरणका चार खेलमा विजयी हुँदै समूह ‘डी’को विजेता बनेर सुपर–८ प्रवेश गरेको दक्षिण अफ्रिकाले यो विश्वपमा हारको सामना गरेको छैन। सुपर–८ को समूह एकमा रहेको दक्षिण अफ्रिकाले पहिलो खेलमा भारतलाई ७६ रनले पराजित गर्दै दोस्रो खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको जित निकालेको थियाे। साथै अन्तिम खेलमा जिम्बाब्वेलाई पाँच विकेटले पराजित गरेकाे थियाे ।

यता न्युजिल्यान्ड भने समूह चरणदेखि नै विभिन्न उतारचढावको सामना गर्दै सुपर–८ हुँदै समेमिफाइनल पुगेको हो।समूह चरणका चार खेलमा तीन जित र एक हारको सामना गरेको न्युजिल्यान्ड सुपर–८ मा समेत अंक बाँडेकै आधारमा सेमिफाइनल पुगेको छ। सुपर आठका तीन खेलमध्ये पाकिस्तानसँगको पहिलो खेल वर्षाले अवरुद्ध हुँदा एक अंक पाएको न्युजिल्यान्डले दोस्रो खेलमा सह-आयोजक श्रीलंकालाई ६१ रनले पराजित गर्दै अन्तिम खेलमा भने इंग्ल्यान्डसँग चार विकेटले पराजित भएको हो।

विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिका समूह १ को विजेता बन्दै पुगेको हो । समूह-२ को उपविजेता बन्दै न्युजिल्यान्डले भेट निश्चित गरेको हो। अपराजित दक्षिण अफ्रिका सेमिफाइनल भीडन्तमा न्युजिल्यान्ड भन्दा बलियो देखिन्छ। दोस्रो सेमिफाइनलमा भने बिहीबार भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुने भएकाे हाे । टी-२० विश्वकपको फाइनल खेल भने आइतबार हुने भएकाे छ ।