
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युद्ध, हिंसा-सशस्त्र मुठभेडको सट्टा अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्दै वार्ता, संवाद र कूटनीतिक उपायमार्फत समस्याको समाधान खोज्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।
उहाँले युद्धग्रस्त क्षेत्रमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरुलाई सतर्कता अपनाउन समेत अनुरोध गर्नुभएकाे हाे । साथै, नेपाल सरकारलाई आफ्ना नागरिकको सुरक्षाको लागि आवश्यक पहल तथा तयारी गर्न पनि उहाँले ध्यानाकर्षण गराउनुभयाे ।उहाँले पर्व फागुपूर्णिमा (होली) को पावन अवसरमा साेमबार शुभकामना व्यक्त गर्नुभएकाे छ । रङ्ग, उत्साह र उल्लासले भरिएको यस पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी प्रेम, सद्भाव र सहिष्णुताको भावनालाई सशक्त बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उहाँको विश्वास छ । सत्य, न्याय र सदाचारको विजयको सन्देश बोकेको फागुपूर्णिमा पर्वले समाजमा विद्यमान विकृति, विसङ्गति तथा नकारात्मक प्रवृत्तिहरूको अन्त्य गर्ने पूर्वराष्ट्रपति भण्डारीकाे विश्वास थियाे ।
साथै उहाँले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रको सर्वोपरिहितलाई केन्द्रमा राखेर सम्पूर्ण मतदाताले आफ्नो विवेक प्रयोग गर्दै मतदान प्रक्रियामा सक्रिय सहभागिता हुने विश्वास पनि व्यक्त गर्नुभयाे । नेपालमा राजनीतिक स्थिरता, दिगो शान्ति र लोकतान्त्रिक प्रणालीको रक्षा र सुदृढीकरणका लागि आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन एउटा महत्वपूर्ण अवसर हुने पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्