काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले आगामी निर्वाचनमा काँग्रेसको पक्षमा देशव्यापी जनलहर सिर्जना भएको दाबी गर्नुभएको छ ।
पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले १६५ वटै निर्वाचन क्षेत्रमा काँग्रेसका कर्मठ र लोकप्रिय उम्मेदवारहरूले मतदातासँग सघन अन्तरक्रिया गरिरहेको र अपेक्षित चुनावी परिणामको पूर्वाभ्यास भइसकेको बताउनुभएको हो ।
प्रवक्ता चालिसेले बदलिँदो राजनीतिक संक्रमणलाई चिर्दै मुलुकको स्थिति सम्हाल्न र लोकइच्छा मुताविक समृद्ध राष्ट्रका लक्ष्यहरू पूरा गर्नसक्ने एक मात्र दल काँग्रेस भएको जिकिर गर्नुभयो । उहाँले निर्वाचन अघिको संवेदनशील परिस्थितिमा लोकतन्त्रको रक्षाका लागि नागरिकहरूले देखाएको समर्थनप्रति आभार समेत प्रकट गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अति लोकप्रियता र प्रतिगमनका पक्षमा गैरजिम्मेवारी ढंगले आम मनोविज्ञानलाई प्रभाव पार्ने तत्वहरू शिथिल बन्दै गएका छन् । नेपाली काँग्रेसप्रति चौतर्फी आकर्षण बढेको छ । विभिन्न दलका उच्चस्तरका राजनीतिक व्यक्तित्व र जनप्रतिनिधिहरू कांग्रेस प्रवेश गर्ने लहर चलेको छ ।’
प्रचारप्रसार अन्तिम सातामा प्रवेश गरिरहँदा पार्टीका शिर्ष नेताहरू देशका विभिन्न प्रमुख सहरहरूमा आयोजना हुने चुनावी सभामा सहभागी भइरहेको जानकारी दिनुभया । चालिसेले नवलपरासी, सुर्खेत र बाँकेमा सम्पन्न सभाहरूमा अन्य दल परित्याग गरी सयौँ कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको बताउनु भयो ।
निर्वाचन आचारसंहिताको पालनालाई काँग्रेसले प्रमुख प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले उल्लंघनका घटनाहरूबारे तत्काल छानबिन गरी कारबाही गर्न निर्वाचन आयोगसँग माग गर्नुभयो । भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा मतदान गर्न पाउने अधिकार नागरिकको रहेकाले नागरिक अधिकारको सम्मान गर्नका लागि सरकारले आफ्ना सम्पूर्ण संयन्त्रहरू परिचालन गर्नुपर्ने बताउनु भयो । जेलबाट फरार भएका अपराधीहरू र हतियारसहित बाहिर रहेकाहरुबाट हुनसक्ने अशान्तिप्रति सरकार सचेत हुनुपर्ने काँग्रेसको भनाइ छ ।
प्रवक्ता चालिसेले बालबालिकालाई निर्वाचनमा प्रयोग गर्ने कार्यको आलोचना गर्दै यसलाई बाल अधिकारको हनन र दण्डनीय गतिविधि भएको ठहर गर्नुभयो । उहाँले कुनैपनि सभ्य पार्टीले राजनीतिक उद्देश्यका लागि बालबालिकाको उपयोग गर्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको बहुलता र एकतालाई कमजोर पार्ने विभाजनकारी अभिव्यक्ति र सामाजिक सद्भावमाथि प्रहार गर्ने कार्य सर्वथा अनुचित हो ।’ लोकतन्त्रको रक्षाका लागि सञ्चार क्षेत्र र काँग्रेसबीचको सहकार्य अविच्छिन्न रहने विश्वास व्यक्त गर्नुभयो ।







प्रतिक्रिया दिनुहोस्