काठमाडाैं । होली पर्व र प्रतिनिधिसभा सदस्यको निर्वाचन यस वर्ष एकैसाथ परेकाे छ ।
जसका कारण आचारसंहिता कडाइका साथ पालना गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको हाे। सहायक सिडिओ जितेन्द्र कुमार यादवले मंगलबार एक सूचना जारी गर्दै प्रशासनको आग्रह विपरीत गतिविधि गर्ने जो कोहीलाई पनि कडा कारबाही गर्ने चेतावनी दिनुभएकाे छ । यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र होली पर्व एकै समय परेकाले रौतहटमा सुरक्षा संवेदनशीलता बढेको भन्दै प्रशासनले विशेष सूचना जारी गरेको हाे।
निर्वाचनको प्रचार–प्रसार तथा मौन अवधिमै होली पर्व परेकाले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न प्रशासनले राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधि, मतदाता तथा सर्वसाधारणलाई आग्रह गरेको छ। सूचनामा आपसी सद्भाव, शान्ति र सौहार्दपूर्ण वातावरण कायम राख्दै मर्यादित, सभ्य र अनुशासित ढंगले होली मनाउनअनुरोध गरिएकाे छ।
प्रशासनले निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्न आग्रह गर्दै उल्लङ्घन भएको जानकारी सम्बन्धित निर्वाचन निकाय वा नजिकको सुरक्षा निकायलाई उपलब्ध गराउन समेत अनुराेध गरेकाे हाे । साथै, भीडभाड हुने कुनै पनि कार्यक्रम आयोजना गर्नु अघि जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य अनुमति लिनुफर्ने र अनुमति बनिा मेला, जात्रा वा कार्यक्रम नगर्न समेत प्रशासनले चेतावनी दिएको हाे।
होली पर्वलाई एकता, सद्भाव र भाइचाराको पर्वका रूपमा मनाउनुपर्ने उल्लेख गर्दै कसैको इच्छा विपरीत जबर्जस्ती रङ दल्ने, लोला हान्ने, फोहर छ्याप्ने जस्ता अमर्यादित तथा उच्छृङ्खल व्यवहार नगर्न आग्रह गरिएको छ। विशेष गरी निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी, कर्मचारी तथा बाटोमा हिँडिरहेका सर्वसाधारणलाई दुःख, हैरानी हुने कुनै पनि गतिविधि नगर्न पनि प्रशासनले निर्देशन दिएको हाे।








प्रतिक्रिया दिनुहोस्