काठमाडाैं ।
सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरी काठमाडौमा संचालित ‘सि.सं. ३२ सैनिक कमाण्ड तथा स्टाफ तालिम’का शिक्षार्थी अधिकृतहरुले आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गर्नुभएको छ ।
सोही अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले अवलोकन भ्रमणमा आउनु भएका तालिमका वरिष्ठ प्रशिक्षक महासेनानी पंकज रावललाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
अवलोकन तथा भ्रमणको क्रममा शिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालले सम्पादन गर्दै आइरहेको विविध कार्यहरुको बारेमा जानकारी लिनुकोसाथै सशस्त्र प्रहरी बल नेपालबारे राखेका विविध जिज्ञासाहरुको सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णु प्रसाद भट्टले प्रष्ट पार्नुभएको थियो ।
नायव महानिरीक्षक भट्टले शिक्षार्थी अधिकृतहरुलाई सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठानिक संरचना, परिचालनका क्षेत्र तथा भूमिका, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको परिचालन, सुरक्षा चुनौतीहरु र नेपाली सेनासँग सशस्त्र प्रहरी बल नेपालको विद्यमान तथा भविष्यमा गर्न सकिने आपसी समन्वय, सहयोग र सहकार्य लगायतका विविध विषयमा प्रस्तुतीकरण मार्फत जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा प्रशिक्षक तथा शिक्षार्थी अधिकृतहरुले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन गरी सो सम्बन्धी जानकारी समेत लिनुभएको थियो ।
अवलोकन भ्रमणमा नेपाल, भारत, माल्दिभ्स, पाकिस्तान, केन्या, श्रीलंका, बंगलादेश, नाईजेरिया र चीनका गरी ९४ जना प्रशिक्षक तथा शिक्षार्थी अधिकृतहरु सहभागी रहनु भएको थियो ।








प्रतिक्रिया दिनुहोस्