Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


एमाले उम्मेदवार अस्मिता थापाकाे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक


234
Shares

ओखलढुंगा । नेकपा एमालेले ओखलढुंगा जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार अस्मिता थापालाई जिताउन आह्वान गर्दै विधि निर्माणदेखि विकास निर्माणसम्मका एजेण्डा समेटेर चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

पार्टीको केन्द्रीय घोषणापत्र नै मूल दस्ताबेज भए पनि जिल्लाको सन्दर्भ समेटेर विगतमा भएका काम र अब गर्ने कामहरुको सूचीसहित प्रतिबद्धतापत्र सार्वजनिक गरिएको निर्वाचन परिचालन कमिटी संयोजक समेत रहेका नेता यज्ञराज सुनुवारले बताए ।

उम्मेदवार थापाको तर्फबाट सार्वजनिक प्रतिबद्धतापत्रमा दूधकोशी,मोलुङ र लिखु करिडोरका सडक सम्पन्न गर्ने,मध्यपहाडी लोकमार्गको रेखांकन परिवर्तन गरेर ओखलढुंगाको केन्द्रभागबाट लैजान पहल गर्ने लगायतका विषयहरु समेटिएका छन् ।
त्यस्तै कृषिबाटै आर्थिक आत्मनिर्भरताका एजेण्डादेखि बाँदर वन्यजन्तुबाट खेती जोगाउने विषय समेत समेटिएको प्रतिबद्धतापत्रमा युवालाई सूचना प्रविधिमार्फत स्वरोजगारमा जोड्ने र युवा उद्यमशीलताका विषय समेटिएको छ ।

प्रतिबद्धतापत्रमा कृषि व्यवसायीकरण, यान्त्रिकीकरण र सहकारीमार्फत उत्पादन बिक्री ग्यारेन्टीको नीति अघि सारेको छ । जिल्लाको करिब ५० प्रतिशत भूभाग ओगटेको वन क्षेत्रलाई आयआर्जन र स्थानीय उपभोगमा प्रयोग गर्ने नीतिगत पहल गरिने उम्मेदवार थापाले बताएकी छन् ।

पारिवारिक स्वास्थ्य कार्यक्रमदेखि अस्पतालहरुको स्तरोन्नति र जेष्ठ नागरिकहरुलाई घरमै आधारभूत सेवा प्रवाहको विषय पनि प्रतिबद्धतापत्रमा उल्लेख छ । वन जंगलजस्ता प्राकृति सम्पदालाई आर्थिक उपार्जनमा जोड्न कानूनी व्यवस्थाका लागि सांसदका रुपमा पहल गर्ने प्रतिबद्धता पनि थापाले व्यक्त गरेकी छन् ।

ओखलढुंगाको पर्यटन प्रबद्र्धन तथा पदमार्गहरुको निर्माण तथा विस्तार गर्दै जिल्लाभित्रका रुम्जाटार र चण्डेश्वरी विमानस्थल सन्चालनको एजेण्डा पनि एमालेको प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । प्रतिबद्धतापत्रमा सार्वजनिक सेवा प्रवाहलाई उत्तरदायी बनाउन सांसदको पहलमै नागरिक संयन्त्र निर्माण गर्नेिदेखि विकाससहितका समस्याको समाधानमा सांसद भन्ने नारा अघि सारिएको छ ।

Skip This