ओखलढुंगा ।
सबै मतदाताहरु मतदानका लागि लाईनमा उभिएका थिए।
मतदानका क्रममा राजनैतिक दलका प्रतिनिधिहरुका विचमा विवाद भयो । विबाद बढ्दै जाँदा झडपमा परिणत हुन पुग्यो । निर्वाचनमा अभ्यासका क्रममा दलका प्रतिनिधिबीच विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्ततः नेपाली सेनाले मोर्चा सम्हाल्न पुगे ।

सुरक्षा घेरा तोड्न खोज्ने प्रदर्शनकारीलाई नियन्त्रण गर्न हवाइ फायर र फायरिङ समेत गरियो । यो दृश्य ओखलढुंगामा भएको नमुना मतदानको हो । मतदानका क्रममा हुन सक्ने विवाद, हूलदंगा र सुरक्षा चुनौतीलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा प्रदर्शन गर्दा उक्त दृश्य देखिएको थियो ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी ओखलढुंगामा निर्वाचन सम्बन्धी नमुना मतदान अभ्यास गरिएको छ । जिल्ला सुरक्षा समितिको आयोजनामा भएको उक्त अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सहभागिता रहेको थियो ।

सदरमुकामस्थित जिसस मतदान केन्द्रमा गरिएको अभ्यासमा तीनवटै सुरक्षा निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने र कुनै पनि अप्रिय घटना हुन नदिई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने सुरक्षा समितिको योजना छ । ओखलढुंगाका ८४ मतदानस्थल र १५७ मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालनका लागि द्रूत गतिमा तयारी भइरहेको छ ।






प्रतिक्रिया दिनुहोस्