एजेन्सी ।
अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको वर्षदेखि लागू गरेको विश्वव्यापी भन्सार महसुल सम्बन्धी निर्णयलाई बदर गरिदिएको छ ।
ट्रम्पले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर यस्तो निर्णय गरेको ठहर गर्दै अदालतको बहुमतले बदर गर्ने फैसला सुनाएको अर्न्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानन्यायाधीश जोन रोबर्टससहित तीन अनुदारवादी न्यायाधीश र तीन उदारवादी न्यायाधीशहरूले महसुलको विपक्षमा मतदान गरेका थिए भने तीन जना न्यायाधीशले असहमति जनाएका थिए ।
सर्वोच्चले आफ्नो फैसलामा राष्ट्रपतीय शक्तिलाई राष्ट्रिय आपतकालका लागि सुरक्षित गरिएको कानुन प्रयोग गरी व्यापक रूपमा महसुल थोपर्नु गलत भएको उल्लेख समेत गरेको छ । गएको नोभेम्बरमा ट्यारिफसम्बन्धी बहस सुनेको सर्वोच्च अदालतले अन्ततः ट्रम्पको आर्थिक एजेन्डालाई ठूलो धक्का पुग्ने गरी फैसला सुनाएको हो ।
अदालतको आदेशले ट्रम्पले विश्वका धेरैजसो देशमाथि लगाएको व्यापक भन्सार महसुललाई खारेज गरिदिएको हो । सर्वोच्च अदालतको निर्णयमा राष्ट्रपति ट्रम्पले असन्तुष्टि जनाउनुभएको छ । साथै उहाँले सर्वोच्च अदालतले खारेज गरेको फैसलालाई प्रतिस्थापन गर्न १० प्रतिशत नयाँ विश्वव्यापी भन्सार कर लगाउने बाचा समेत गर्नुभएको बीबीसीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्