Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


मकवानपुर-१ मा पुराना र नयाँबीच टक्कर (भिडियाे रिपाेर्ट)

मकवानपुर-१ को मत कता ?

0
Shares

मकवानपुर । बागमती प्रदेशको राजधानी रहेको हटौंडा उपमहानगरपालिकाका अधिकांश क्षेत्र ओगेको मकवानपुरको क्षेत्र- १ मा पनि चुनावी सरगर्मी उस्तै बढेको छ ।

गत निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको यस क्षेत्रमा विरासत जोगाउने राप्रपाको कसरत र विरासत भत्काउने नेपाली कांग्रेस– नेकपा एमालेको जोडकाबीच राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ इतिहास बनाउने गरी प्रवेश गरेको हाे । मकवानपुर-१ मा २३ जना उम्मेदवार चुनावी मैदानमा छन् । २०७९ सालमा विजयी भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपकबहादुर सिंह यस पटक पनि उम्मेदवार बनेका छन् । एमालेबाट रामेश्वर राना, कांग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, नेकपाबाट विजय गौतम र रास्वपाबाट प्रकाश गौतम मैदानमा छन् । उम्मेदवारहरु मध्ये डिना र सिंहको यो पाँचौ पटकको चुनावी प्रतिस्पर्धा हो ।

डिनाले यस अघिका सबै प्रतिनिधिसभाका चुनाव लड्दै आएकी छन् । २०५४ र २०७९ सालको स्थानीय निर्वाचनमा भाग लिएका सिंहले अघिल्लो निर्वाचनमा बाजी मारेका हुन् । एमाले राना तथा नेकपा र रास्वपाका गौतमद्वय भने पहिलो पटकको चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । मकवानपुरको तत्कालीन जिल्ला विकास समितिका सभापति समेत भइसकेका राना पाका उम्मेदवार हुन भने गौतमद्वय युवा उम्मेदवारहरु घर दैलोमा डुल्दै गर्दा मतदाताहरु भने दल र उम्मेदवारहरुका एजेण्डा र माहौलको प्रतीक्षामा रहेका देखिन्छन् । कांग्रेस उम्मेदवार उपाध्याय पार्टी आन्तरिक समस्याबाट निस्किएर एक ढिक्का बनेकाले यस पटक आफू विजयी हुने विश्वासमा रहनुभएकाे छ।

संविधान, लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा समृद्ध नेपाल सुखी नेपाली बनाउने चाहनाले उम्मेदवार बनेको दावी गर्ने एमाले उम्मेदवार राना समग्र जिल्ला र हेटौंडा उपमहानगरपालिकाको भविस्य निर्माण र विद्यमान समस्याहरुको समाधान गर्ने दावी गर्दै आएका छन् । अघिल्लो निर्वाचनमा विजयी हुनुभएका राप्रपाका उम्मेदवार सिंह युवा पलायन रोक्न र देशमै उद्योग धन्दा खोल्ने वातावरण बनाएर रोजगारी दिन पहल गर्ने बतानुभएकाे छ । सिंहले राजसंस्था फर्काउने वाचा गरेरै मत मागिरहेको बताउनुभयाे ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमले राप्ती तटदेखि बागमती तट सम्म विकासका कुरा, शिक्षा, स्वास्थ्यलाई नै चुनावी एजेण्डा बनाएको बताउनुभयाे । १ लाख ५८ हजार ४ सय ३५ मतदाता रहेको यस क्षेत्रमा कांग्रेस र एमालेले एक-अर्कालाई मुख्य प्रतिस्पर्धीको रूपमा हेरेका छन् । तर अघिल्लो निर्वाचन जितेको राप्रपा र नयाँ लहरसहित आएको रास्वपाका उम्मेदवारहरु पनि नजर-अन्दाज गर्न सकिने अवस्थामा छैनन् ।

भिडियाे रिपाेर्ट: