Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


भदौ २३ मा सरकारको तर्फबाट गल्ति भएकै हो : सभापति थापा


169
Shares

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले गत भदौमा भएको जेन–जी विद्रोहको क्रममा सरकारको तर्फबाट गल्ती भएको स्वीकार गर्दै त्यसप्रति आफ्नो भाग जिम्मेवारी पार्टीले लिने बताउनुभएको छ । 

बिहीवार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको हो । जेन–जी विद्रोहको समयमा आफूहरू सरकारको सहयात्री रहेको भन्दै कमजोरीको जिम्मा लिन काँग्रेस तयार रहेको उहाँको भनाइ छ । उहाँले आन्दोलनका क्रममा ज्यान गुमाएका आफन्तहरुसँग क्षमा पनि माग्नुभयो ।

सभापति थापाले २००७, २०४६ र २०६३/६४ सालका जनआन्दोलनको स्मरण गर्दै ती आन्दोलनप्रति पार्टीले गौरव गर्दै आएको बताउनुभयो । उहाँले भदौ २३ र २४ गते युवाहरूले उठाएका मागहरू सम्बोधन गर्न सकेमात्र त्यसप्रति गौरव गर्न सकिने भन्दै उहाँले जेनजी युवाको भावनाअनुसार पार्टी अगाडि बढ्ने प्रतिज्ञा गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘भदौ २३ गते सरकारको तर्फबाट गल्ति भएकै हो । हामी पनि त्यो समय सरकारमा थियौँ । आफ्नो कमजोरीको जिम्मा हामीले लिनुपर्छ । हामी लिन्छौँ । हामी त्यो आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुसँग क्षमा माग्छौँ । हामी २००७, २०४६, २०६३/६४ सालको आन्दोलनको गौरव गर्छौं । भदौ २३ र २४ मा जुन माग लिएर युवाहरु आन्दोलनमा आए । ती मागहरु पूरा गर्नसके मात्र हामी त्यसप्रति गौरव गर्छौँ ।’
उहाँले अगामी दिनहरुमा असैद्धान्तिक र अप्राकृतिक गठबन्धन नगर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।