Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


‘जेनजी आन्दाेलनपछि भड्किएको अनुशासनलाई सही मार्गमा ल्याउन निर्वाचन सफल पारौं’: कार्यवाहक प्रमुख आयुक्त भण्डारी


78
Shares

काठमाडाैं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनले मुलुकमा विथोलिएको अनुशासनलाई सही मार्गमा ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बिहीबार दशौं निर्वाचन दिवसका अवसरमा शुभकामना सन्देश दिँदै यस्ताे बताउनुभएकाे हाे। राजनीतिक दल, उम्मेदवार र आम मतदातालाई निर्धक्क भएर निर्वाचन प्रक्रियामा सहभागी हुन अपिल गर्नुभएकाे छ । गत भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’ पछि राष्ट्रपतिबाट घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुन अब १४ दिन मात्र बाँकी छ ।

यो विशेष परिस्थितिलाई सङ्केत गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन आयोगको मूल मन्त्र ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी एवम् मितव्ययी निर्वाचनः शान्ति, स्थिरता, समृद्धि र सुशासन’ लाई आत्मसात गर्न सबैलाई आग्रह गर्नुभएको छ । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते बालिग मताधिकारका आधारमा आम निर्वाचन शुरु भएको दिनको सम्झनामा आज निर्वाचन दिवस मनाइँदैछ ।

उहाँले निर्वाचन आम नागरिकका लागि विशेष र अविस्मरणीय रहेको वताउनुभयो । विशेष राजनीतिक परिस्थिति र विद्रोहपछि हुन लागेको निर्वाचनले मुलुकलाई स्थायित्व दिने विश्वाश व्यक्त गर्नुभएकाे छ । निर्वाचनको मुखमा राजनीतिक दल र उम्मेदवारलाई प्रचारप्रसारमा कुनै अवरोध हुन नहुनेमा भण्डारीले जोड दिनुभयाे ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले उम्मेदवारहरूलाई तथ्य र तर्कका आधारमा प्रतिष्पर्धा गर्न र मतदातालाई स्वतन्त्रतापूर्वक मताधिकार प्रयोग गर्न आह्वान गर्नुभएको छ । उहाँले उम्मेदवार र मतदाताको अधिकार कुण्ठित हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।