Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


आईसीसी टी-२० विश्वकप क्रिकेटमा भारतकाे शानदार जित

नेदरल्याण्ड्स भने १७ रनकाे फराकिलाे अन्तरले पराजित

1.1k
Shares

काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा भारतले नेदरल्याण्ड्सलाई १७ रन रनकाे फराकिलाे अन्तरले पराजित गरेको छ ।

भारतको अहमेवादमा बुधबार राति भएको खेलमा भारतले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रनमा समेटिएकाे हाे । टस जितेर पहिले ब्याटिङ गरेको भारतका लागि शिवम दुबेले ३१ बलमा सर्वाधिक ६६ रन बनाए । त्यस्तै ,सूर्यकुमार यादवले ३४, तिलक वर्माले ३१ र हार्दिक पाड्याले ३० रनको योगदान दिएपछि भारतले ६ विकेटले क्षतिमा १ सय ९३ रन बनाएको थियो । यसैबीच विश्वकपमा सुपर–८ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ ।

बुधबारै भएको समूह ‘ए’ को खेलमा पाकिस्तानले नामिबियालाई पराजित गरेसँगै अन्तिम टोलीको रूपमा पाकिस्तान सुपर ८ मा पुगेको हो । पाकिस्तानले दिएको २ सय रनको लक्ष्य पछ्याएको नामिबिया १७ ओभर ३ बलमा ९७ रनमा समेटियो । नामिबियाका लागि लोरेन स्टिनक्याम्पले सर्वाधिक २३ रन बनाए । बलिङमा पाकिस्तानका उस्मान तारिकले सर्वाधिक ४ विकेट लिएका थिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले शाहिबजादा फरहानको शतकमा १ सय ९९ रन बनाएको थियो । फरहानले ५८ बलमा शतक पूरा गर्दै अविजित रहेका हुन्। यो टी–२० विश्वकपको तेस्रो शतक हो । बलिङमा नामिबियाका ज्याक ब्रासेलले सर्वाधिक २ विकेट लिए । सुपर–८ को समूह–१ मा भारत, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र जिम्बावे छन् भने समूह २ मा इंग्ल्यान्ड, न्यूजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका हुन् ।

समूह ‘ए’ बाट पाकिस्तानसँगै भारत सुपर–८ मा पुग्दा समूह ‘बी’ बाट श्रीलंका र जिम्बावे पुगेका छन् । समूह ‘सी’ बाट इंग्ल्याण्ड र वेष्ट इन्डिज र समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्यूजिल्याण्डले सुपर–८ मा स्थान पक्का गरेका हुन् । अस्ट्रेलिया, अफगानिस्तान, आयरल्यान्डसहितका राष्ट्रहरु समूह चरणबाटै बाहिरिएका छन् ।

नेपाल पनि एक जित र तीन खेलमा पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ । विश्वकप क्रिकेटमा बिहीबार बिहान सवा ११ बजे भारतमा वेष्ट इण्डिज र इटली, बिहीबार दिउँसो सवा ३ बजे श्रीलंकामा श्रीलंका र जिम्बाब्वे र बिहीबार बेलुकी सवा ७ बजेदेखि भारतमा अफगानिस्तान र क्यानाडाले खेल्ने हुने भएका छन् ।