Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


पूर्वी प्रशान्त र क्यारिबियनमा ३ जहाजमाथि अमेरिकी सेनाकाे आक्रमण, ११ जनाकाे ज्यान गयाे


2.7k
Shares

एजेन्सी । अमेरिकी सेनाले पूर्वी प्रशान्त र क्यारिबियन क्षेत्रमा तीन वटा जहाजमाथि आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ ।

अमेरिकी दक्षिणी कमाण्डले पूर्वी प्रशान्त क्षेत्रको पहिलो जहाजमा चार जना, दोस्रो जहाजमा चार जना र क्यारिबियन क्षेत्रको तेस्रो जहाजमा तीन जनाको मृत्यु भएको जनाएकाे हो । गुप्तचर निकायले ती जहाजहरू लागूऔषध तस्करीका लागि परिचित मार्गहरूबाट गइरहेको र तस्करी कार्यमा संलग्न रहेको पुष्टि गरेको कमाण्डले दावी गरेकाे छ। यस आक्रमणमा अमेरिकी सेनालाई कुनै क्षति नभएको बताइएको छ । यद्यपि अमेरिकी प्रशासनले ती डुङ्गाहरू, कार्गो वा मारिएका व्यक्तिहरूका बारेमा आफ्ना आरोपहरू पुष्टि गर्ने कुनै प्रमाण भने उपलब्ध गराएको छैन ।

गत सेप्टेम्बरको शुरुदेखि अमेरिकी सेनाले क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा लागूऔषध तस्करीमा संलग्न रहेको आरोप लगाइएका डुङ्गाहरूमाथि करिब ४० पटक आक्रमण गरिसकेको छ । जसमा १ सय ३० भन्दा बढी मानिसको ज्यान गएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरिएको जनवरी ३ को सैन्य कारबाहीपछि पेन्टागनले जनवरीको अन्त्यदेखि जहाजहरूमाथि पुनः आक्रमण शुरु गरेको हो ।