काठमाडाैं । मच्छिन्द्र फुटबल क्लब सातौं झापा गोल्डकपको उपाधि जितेको छ ।
डोमालाल राजवंशी रंगशालामा साेमबार भएकाे फाइनल खेलमा मच्छिन्द्रले सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।उपाधिसँगै मच्छिन्द्रले नगद १५ लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता एपीएफले ७ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । खेलमा मच्छिन्द्रका प्रदीप बुढाथोकी ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी पेमा तामाङ घोषित हुँदै एउटा मोटरसाइकल प्राप्त गरेका हुन् । उत्कृष्ट गोलकिपर विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक प्रवेश कटवाल र सर्वाधिक गोलकर्ता जोनाथन जोरिल्ला घोषित भए । उनीहरूले जनही ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै, टिकट काटेर खेल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट बिर्तामोडकी प्रीति मोक्तानले एउटा स्कुटर प्राप्त गरेकी छन् । प्रतियोगितामा नेपालका तीन विभागीय टोली, विभिन्न ‘ए’ डिभिजन क्लब तथा भारत, भुटान र मलेसियाका क्लबहरूको सहभागिता रहेको थियो ।






प्रतिक्रिया दिनुहोस्