Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


निर्वाचनका लागि आजदेखि राजनीतिक दल तथा उम्मेदवारले चुनावी प्रचार गर्न सक्ने

निर्वाचन आचारसंहिता पालना गर्न आयोगको निर्देशन

195
Shares

काठमाडौं । यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि साेमबारदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ ।

मतदान हुने दिन भन्दा १५ दिन अघिदेखि मात्र चुनाव प्रचार–प्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो चुनाव सम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । साेही व्यवस्था अनुसार साेमबारदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार–प्रसार गर्न सक्ने भएका छन् । दल र उम्मेदवारहरुले तोकिएको मापदण्डका आधारमा पत्रपत्रिकाका साथै ‘अनलाइन’ सञ्चारमाध्यममा पनि विज्ञापनबाट प्रचार–प्रसार गर्न सक्ने निर्वाचन आयाेगले जनाएकाे हाे । चुनाव प्रचार–प्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।

आयोगले प्रचारप्रसारका क्रममा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि र शुभेच्छुकहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न समेत निर्देशन दिएको छ । आचारसंहिताको सीमा रेखाभित्र रहेर मात्र चुनावी गतिविधि सञ्चालन गर्न र कुनै पनि प्रकारको उल्लंघन नगर्न आयोगले सचेत गराएको हो । आयोगले चुनावी प्रचारप्रसारमा हिंसा, धम्की, लोभ लालच र सामाजिक बहिष्कार जस्ता गतिविधिमा कडाइका साथ रोक लगाएको छ । आयाेगले कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा चुनावलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट एवम् संगठित रूपमा निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिन नपाइने जनाएको छ।