Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


गोरखामा कसैलाई सहयोग गरेका छैनौँ : सुदन किराँती


559
Shares

काठमाडाैं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष मण्डलका सदस्य सुदन किराँतीले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गोरखामा हालसम्म कुनैपनि पार्टीलाई सहयोग नगरेको स्पष्ट पार्नुभएको छ ।

आईतवार पार्टीको प्रतिवद्धतापत्र सार्वजनिक गर्ने क्रममा उहाँले गोरखामा कसैलाई समर्थन गर्ने विषयमा पार्टीले कुनै निर्णय नगरेको बताउनुभएको हो । पार्टीले गोरखा क्षेत्र नम्बर २ मा पार्टीका संरक्षक डा बाबुराम भट्टराई र क्षेत्र नम्बर १ मा गोपालबाबु श्रेष्ठलाई उम्मेद्वार बनाएको थियो ।

उहाँहरुले उम्मेद्वारी फिर्ता लिएपछि गोरखामा पार्टीले कसैलाई सर्मथन गर्ने निर्णय नगरेको उहाँले जानकारी दिनुभयो । उहाँले पार्टीका उम्मेद्वारले किन उम्मेद्वारी फिर्ता लिएको भन्ने बारेमा जानकारी नभएको पनि उहाँले बताउनु भयो । उहाँले पार्टीका संरक्षक भट्टराईसँग उम्मेद्वारी फिर्ता लिएको विषयमा सोधखोज पनि नगरेको जानकारी दिनुभयो । उहाँकाअनुसार उहाँ हाल व्यक्तिगत शोकमा रहेकाले गोरखा सम्बन्धी विषयमा विस्तृत छलफल हुन सकेको छैन ।

उहाँले डा. भट्टराईलाई आफूहरूले अभिभावकका रूपमा लिएको र अहिले अन्य राजनीतिक वृत्तमा पनि उहाँप्रति सकारात्मक दृष्टिकोण विकसित भइरहेको उल्लेख गर्नुभयो । नेपालको भूराजनीतिक अवस्था जटिल र संवेदनशील रहेको उल्लेख गर्दै उहाँले सोही सन्दर्भमा दीर्घकालीन सोचका साथ डा. भट्टराईले निर्णय गरेको हुनसक्ने बताउनु भयो । चुनावपछि यसबारेमा समिक्षा हुने उहाँले जानकारी दिनुभयो । उहाँले प्रलोपाले ८७ सिटमा उम्मेदारी दिएको र सबै स्थानमा जित हासिल गर्नेगरी अघि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो अभिभावक डा बाबुराम भट्टराई हाम्रो संरक्षक हुनुहुन्छ, यतिवेला उहाँ शोकमा हुनुहुन्छ, हामीले यो प्रश्न गर्न भ्याएका पनि छैनौँ । तर हामीले जसरी हाम्रो संरक्षक र अभिभावक मानेको छौँ, उहाँलाई सबैले अभिभावक मान्न पनि थालेको छ । त्यो सकरात्मक कुरा हो । नेपालको भुराजनिति निकै डरलाग्दो स्थितिमा छ, यो सबै आकलन गरेर, त्यो स्तरबाट उहाँले निर्णय गरेको हुनुपर्छ ।

भावी दिनमा अभिभावककै भुमिका निर्वाह गर्नको लागी उहाँले त्यो निर्णय गरेको हुनुपर्छ, हामी यो चुनावपछि मात्रै सबै यो कुरा गर्छौ । गोरखामा हामीले कसैलाई सहयोग गरेका छैनौँ । हामी ८७ सिटमा नै जित्नेगरि लागेका छौँ ।’ उहाँले स्थानीयस्तरमा कतिपय भिन्न विचार बोक्ने राजनितिक दलहरुसँग पनि चुनावी तालमेल गरिएको जानकारी दिनुभयो । स्थानिय आवश्यकताका आधारमा निर्वाचन जित्नको लागी कतिपय ठाउँमा गठबन्धन गरिएको उहाँको भनाई छ ।