काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यसपटकको निर्वाचनमा जनताको समर्थन आफूहरुलाई बढेको दाबी गर्नुभएको छ ।
राष्ट्रिय प्रेस क्लवले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले विगतको निर्वाचनको तुलनामा यसपटक जसपा नेपालको लागी अनुकूल वातावरण भएको दाबी गर्नुभएको हो । पार्टी एकीकरणपछि संगठन बलियो भएकोले जनसमर्थन बढेको उहाँको भनाई छ । उहाँकाअनुसार राजनीतिमा मुख्य कुरा मुद्दा, विचार र सिद्धान्त हो ।
राष्ट्रिय तथा स्थानीय मुद्दामा आफूहरु स्पष्ट रहेको र ती मुद्दा लिएर जनताबीच गएको उहाँले बताउनु भयो । सोही कारण विगतको तुलनामा अहिले जनताको आकर्षण आफ्नो पार्टीतर्फ बढेको उहाँको जिकिर छ । उहाँले आफूहरुले सधै जनताका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्ने गरेको उल्लेख गनुभयो । उहाँले हाल नेपालमा नयाँ र पुराना पुस्ताबीचको लडाँई सिर्जना गर्न खोजिएको पनि आरोप लगाउनु भयो ।
उहाँले देश विकासको लागि नयाँ र पुराना दुवै पुस्ता आवश्यक रहेको बताउनु भयो । वर्तमान राजनीतिक बहसमा देखिएको पुराना नेतृत्व असफल र नयाँ पुस्ताको नेतृत्व अनुभवहीन भन्ने दुवै भाष्य भ्रामक र नियोजित रूपमा खडा गरिएको दाबी गर्नुभयो । यी दुवै भाष्यहरु गलत भएको उहाँको भनाई छ । उहाँले पुराना नेतृत्वको अनुभवलाई नयाँले सिक्नुपर्ने र नयाँ पुस्ताको उर्जालाई पुरानाले उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । अनुभव र ऊर्जाको समन्वयबाट मात्रै मुलुकलाई सही दिशामा अगाडि बढाउन सकिने उहाँको भनाई छ । नयाँ र पुरानाबीच द्वन्द्व सिर्जना गर्ने प्रयास लोकतान्त्रिक मूल्यमान्यताको विरुद्ध भएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले चुनावको अवस्थामा पछिल्ला चुनावभन्दा अहिले हामी बढी अनुकुल वातावरणमा छौँ र जनताको समर्थन पनि पाईरहेका छौँ । त्यसको पनि कारण छ, हामीहरु एकीकृत भएका छौँ । मुख्य कुरा राजनितिमा मुद्दा हो, विचार हो, सिद्धान्त हो । सैद्धान्तिक रुपमा, वैचारिक रुपमा र राष्ट्रिय तथा स्थानिय मुद्दाहरु हामीसँग छन् । जुन हामी लिएर जनताको बीचमा गएका छौँ । जनताको आर्कषण विगतको तुलनामा अहिले हामीसंग छन् । पुराना नेतृत्व कामै नलाग्ने, यी सबै खत्तम भन्ने एउटा भाष्य बन्दै गएको छ । अर्को चाँही नयाँहरु के जान्दछन्, यीनीहरुले बबार्द गर्न मात्रै जानेको छ, भन्ने अर्को भाष्य खडा गरिएको छ । यी दुबै भाष्यहरु गलत हुन् । पुरानाका अनुभव, पुरानो नेतृत्व भनेको त लाईब्रेरी पनि हो, अनुभवको लाईब्रेरी । र नयाँको उर्जा यी दबैलाई जोडेर सहकार्य गरेर अगाडी बढ्नुपर्छ । नयाँले पुरानाको अनुभव लिएर अगाडी बढ्ने, पुरानाले पनि नयाँलाई आफ्ना अनुभवहरु शेयर गरेर मुलुक हाँक्नलाई सक्षम बनाएर जाने हो । नयाँ र पुरानाको बीचको द्धन्दको युग होईन यो । यो जवरजस्र्ती खडा गर्न कोशिष गरिँदैछ । नयाँ पार्टी आउने, नयाँ नेतृत्व आवस्, त्यसैको लागी त हामी लोकतन्त्रको लागी लड्यौँ । हामीले के को लागी जेलनेल भोग्यौँ, के का लागी संघर्ष ग¥र्यौँ, लोकतन्त्रको लागी । लोकतन्त्र परिवर्तनको आधार हो । नयाँ पुस्ता आउने, पुरानाबाट नयाँ पुस्तामा नेतृत्व रुपान्तरण हुँदै जाओस् भनेर त लोकतन्त्र ल्याएको हो । तानाशाही व्यवस्थामा त उही खानदानी शासन मात्रै हुन्थ्यो ।’
अध्यक्ष यादवले लोकतन्त्रको स्थापना नै नेतृत्व रूपान्तरणका लागि भएको उल्लेख गर्नुभयो । लोकतन्त्र परिवर्तनको आधार भएको बताउँदै उहाँले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने प्रक्रियालाई सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।






प्रतिक्रिया दिनुहोस्