Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


नेपाली सेनालाई कारागार सुरक्षाको जिम्मा


520
Shares

काठमाडाैं । दार्चुलाको सदरमुकाम खलंगामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली सेनाले सम्हालेको छ । बिहीबारदेखि जिल्ला कारागार कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो ।

सदरमुकाम खलंगामै रहेको श्रीदल गुल्मबाट सहसेनानी अन्वेश गुरूङको नेतृत्वमा १० जनाको टोली कारागार सुरक्षार्थ खटिएको छ । यसअघि उक्त कारागारमा नेपाल प्रहरीको टोलीले सुरक्षा दिँदै आएको थियो । अहिले प्रहरी टोली पनि करागार सुरक्षार्थ खटिएको छ ।

सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण आयोजनामा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार कारागारमा नेपाली सेना खटिएको हो ।

सोही निर्णयअनुसार दार्चुला कारागारमा पनि सेना तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । उनका अनुसार सरकारको निर्देशनअनुसार आवश्यक समन्वय गरेर सुरक्षा व्यवस्थापन अघि बढाइएको हो ।