काठमाडाैं । राष्ट्रिय सभाको चालु १९ औं अधिवेशन शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालु १९ औं अधिवेशन आगामी फागुन १ गते राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गर्नुभएको हो । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन अन्त्यको भएकाेऔपचारिक रुपमा जानकारी गराउनुभयो । नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ माघ २६ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले सो अधिवेशन अन्त्य गर्नुभएको हो ।
माघ २९ गते जारी गरिएको पत्रानुसार सम्वत २०८२ साल फागुन १ गते शुक्रबार राति १२ बजेदेखि चालु अधिवेशन स्वतः अन्त्य हुने उल्लेख छ । सभाको बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउँदै १९ औं अधिवेशन शुक्रबार रातिबाट अन्त्य भएको घोषणा गर्नुभयो । उहाँले अधिवेशन ऐतिहासिक उपलब्धिहरूका साथ समापन भएको दावी गर्नुभएकाे छ ।
अध्यक्ष दाहालले अधिवेशन समयका हिसाबले छोटो भएपनि कामको हिसाबले निकै महत्वपूर्ण र भविष्यमा गर्व गर्न सकिने रहेको बताउनुभएकाे हाे । अध्यक्ष दाहालले प्रतिनिधि सभा निर्वाचनको संघारमा देशभर चुनावी माहोल बनिरहेको अवस्थामा राष्ट्रिय सभाले अभिभावकीय भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । यस अधिवेशन अवधिमा राष्ट्रिय सभाले महत्वपूर्ण विधेयकहरू पारित गरेको छ ।
पर्यटन विधेयक, २०८१, चलचित्र विधेयक, २०८१ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना सञ्चालन विधेयक २०८१ लाई पारित गरी प्रतिनिधि सभामा पठाइएको छ । त्यस्तै ,अभौतिक प्राकृतिक सम्पदा संरक्षण विधेयकलाई दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइएको छ । यसैगरी मतदाता नामावली ऐन (संशोधन), प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेशहरू सभाबाट सर्वसम्मत स्वीकृत भएका छन् । सरकारले भने सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता लिएको छ ।
२७ दिन चालु रहेको यो अधिवेशनमा कूल ९ वटा बैठकहरू बसेका थिए । कूल १७ घण्टा २५ मिनेट समय सभाको काममा व्यतित भएको छ । यस अवधिमा २९ जना सदस्यहरूले शून्य समयमा ४८ मिनेट र १५ जना माननीय सदस्यहरूले विशेष समयमा ३ घण्टा ३९ मिनेट समय उपयोग गर्नुभएको थियो ।






प्रतिक्रिया दिनुहोस्