काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा राजनीतिक स्थायित्व कायम गर्न समावेशी शासन प्रणालीलाई व्यवहारमा उतार्नु अपरिहार्य रहेको बताउनुभएको छ ।
आइतवार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समावेशी शासन प्रणालीबिना मुलुकमा राजनीतिक स्थायित्व सम्भव नहुने बताउनुभएको हो ।
सबै जातजाति, भाषा, संस्कृति र समुदायलाई समान पहुँच, अवसर र सम्मान सुनिश्चित नगरी दिगो विकास र सामाजिक न्याय सम्भव नहुने उहाँको भनाइ छ । उहाँले राष्ट्रिय गानको सन्दर्भ उल्लेख गर्दै नेपाललाई सयौँ फूलले बनेको सुन्दर फूलबारीका रूपमा चित्रण गर्दै यस फूलबारीलाई अझ सुन्दर, समुन्नत र सन्तुलित बनाउन सबै समुदायको समान सहभागिता आवश्यक रहेको बताउनुभयो ।
उहाँले संविधानले समावेशिता, समानता र सामाजिक न्यायलाई मूल लक्ष्यका रूपमा अघि सारेको उल्लेख गर्दै राज्यले सबै जाति तथा समुदायलाई विश्वासमा लिएर शासन सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो राष्ट्रिय गानले व्यक्त गरेझैँ नेपाल सयौँ फुलहरु मिलेर बनेको सुन्दर फुलबारी हो । यस फूलबारीलाई अझ सुन्दर, समुन्नत, र सन्तुलित बनाउन सबै जाताजाति, भाषा, संस्कृति र समुदायको समान पहुँच, समान अवसर र समान सम्मान अपरिहार्य हुन्छ । हाम्रो संविधानले निर्दिष्ट गरेको लक्ष्य पनि यही हो । देशको दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व अत्यन्त आवश्यक छ । राज्यले सबै जाति तथा समूदायलाई विश्वासमा लिएर समावेशी शासन प्रणाालीलाई व्यवहारमा उतारेपछि नै राजनीतिक स्थायीत्व सम्भव हुने हो भन्ने कुरा हामीले बिर्सनुहुन्न ।’
उहाँले आदिवासी जनजाति समूदायको संस्कृति नेपालको पहिचान भएको भन्दै उहाँले यो समूदायको भाषा, संस्कृति र सम्पदाको संरक्षण गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।





प्रतिक्रिया दिनुहोस्