Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


आईसीसीटी-२० विश्वकपमा आज नेपालले इंग्ल्याण्डसँग सामना गर्दै


468
Shares

काठमाडौं । १०औं संस्करणको आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आइतबार इंग्ल्याण्डसँग सामना गर्ने भएको छ ।

सोही खेल मुम्बईको वानखडे स्टेडियममा आइतबार दिउँसो सवा ३ बजेदेखि शुरु हुने भएको हो । नेपालले समग्रमा तेश्रो पटक र लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्दैछ । रोहितकुमार पौडेलको कप्तानीमा नेपालले दोश्रो पटक विश्वकप खेल्न थालेको हो । दुई पटकको च्याम्पियन टोली इङल्यान्डसँग नेपालको ऐतिहासिक खेल हुनेछ । अनि नेपालले समूह चरणका आफ्ना चार वटै खेल वानखडे स्टेडियममा खेल्ने भएको हो।

यो विश्वकपका नेपालका आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादव डेब्युको तयारीमा छन् । सोमपाल कामी भने नेपालले खेलेका तिन वटै विश्वकप खेल्ने एक्ला खेलाडी हुन् । कप्तान रोहित पौडेलसँगै ओपनर कुशल भुर्तेल, आशिफ शेख, दिपेन्द्र सिंह ऐरि, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र सन्दीप जोरा लगातार दोस्रो पटक विश्वकप खेल्न लागेका हुन् ।

विश्वकप अघि नेपालले युएई र क्यानडासँग अभ्यास खेल खेलेको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो । विश्वकप आयोजक श्रीलंका र भारतमा अभ्यास गरेको नेपाली टोलीले उच्च मनोबलका साथ खेल शुरुवात गर्नेछ । नेपालसँगको खेलका लागि इङल्यान्डले शनिबार नै प्लेइङ–११ सार्वजनिक गरिसकेको छ ।

नेपालले इङल्यान्डसँगै वेष्ट इण्डिज, स्कटल्यान्ड र इटालीसँग खेल्ने भएको हो । इटाली पहिलो पटक विश्वकपमा सहभागी भएको छ । टी–२० विश्वकपमा नेपालको खेल अघि आइतबार बिहान सवा ११ बजे अफगानिस्तान र न्युजिल्यान्ड तथा नेपालको खेलपछि बेलुका सवा ७ बजे श्रीलङ्का र आयरल्यान्डले खेल्ने कार्य तालिका रहेको हो ।

विश्वकपको पहिलो दिन हिजो भएका खेलमा भारत, पाकिस्तान र वेष्ट इण्डिजले विजयी शुरुआत गरेका छन् । प्रतियोगितामा २० वटा टोलीलाई ४ वटा समूहमा बाँडिएको छ । प्रतियोगिता आउँदो मार्च ८ तारिख अर्थात् फागुन २४ गतेसम्म चल्नेछ ।