१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


नेपालको पाँचौं भ्रमणमा भारतीय प्रधानमन्त्री मोदी जन्ती बनेर आउने !


0
Shares

काठमाडौं, असोज ९ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको पाँचौं भ्रमणको तयारीमा जुटेको भारतीय सञ्चारमाध्यमले खुलासा गरेको छ ।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारअनुसार मोदी सन् २०१८ को अन्त्यसम्ममा नेपाल भ्रमणका लागि इच्छुक देखिएका हुन् । भ्रमणको मिति निर्धारण हुन बाँकी रहे पनि तारतम्य मिलाउने काम भइरहेको उक्त अखबारले जनाएको छ ।

अखबारका अनुसार नोभेम्बर २८–२९ मा भ्रमण गर्ने या डिसेम्बर १२ मा गर्ने भन्ने प्रष्ट हुन सकेको छैन । उच्च कुटनीतिक स्रोतलाई उद्धृत गर्दै उक्त अखबारले डिसेम्बर १२ कै लागि भ्रमण उपयुक्त हुने भन्दै सोहीअनुसार तयारी भइरहेको जनाएको छ ।

भारतको मध्यप्रदेश, छत्तीसगढ, राजस्थान, मिजोरम र तेलंगानामा चुनावी माहोल बढिरहेको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणलाई किन महत्व दिइरहेका छन् ? यस विषयमा समेत उक्त अखबारले गहिराईमा पुगेर विश्लेषण गरेको छ । मोदीले भारतको चुनावमा ‘हिन्दू कार्ड’ प्रयोग गर्नका लागि नेपाल भ्रमणलाई रोजेको जनाइएको छ ।

डिसेम्बर १२ हिन्दु धर्मावलम्बीहरुका लागि खास दिन हो । भगवान राम र जानकीको विवाह भएको दिन अर्थात् विवाह पञ्चमी परेकाले पनि सो अवसरमा मोदीले नेपाल भ्रमण गर्न चाहेको स्रोतले जनाएको छ । हिन्दू धर्मावलम्बीको विश्वास जित्नका लागि मोदी विवाह पञ्चमीकै अवसरमा नेपाल भ्रमण गर्ने निष्कर्षमा करिब करिब पुगिसकेको स्रोतको भनाइ छ ।

सो अखबारले लेखेको छ, ‘रामजानकी विवाह पञ्चमीमा उत्तर प्रदेशको अयोध्याबाट नेपालको जनकपुरसम्म जन्ती जाने प्रचलन छ । विवाह पञ्चमीको अवसरमा राम र जानकीको विवाहको परम्परा प्रतीकात्मक रुपमा पुरा गरिन्छ । स्रोतका अनुसार प्रधानमन्त्री मोदीले रामको जन्ती बनेर विवाह पञ्चमीमा नेतृत्व गर्न सक्छन् ताकि भारतमा रहेका हिन्दू धर्मावलम्बीलाई एउटा भावनात्मक सन्देश दिन सकियोस् ।’

यो अभियानबाट उत्तर प्रदेश र बिहार राज्यमा पनि चुनावी माहोललाई फाइदा पुग्ने भारतीय विश्लेषकको भनाइ छ ।

स्मरणीय छ, केही अघि भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी कैलाश मानसरोवर यात्रामा गएका थिए । नेपाल हुँदै तिब्बतको मानसरोवर गएका गान्धीले आफूलाई ‘शिवभक्त’ का रुपमा चित्रित गरेका थिए ।

मोदीको कार्यकालमा नेपाल–भारत सम्बन्ध बिग्रिएको भनेर आलोचना भइरहेको समयमा मोदीले नेपालसँगको सम्बन्ध सुधार भएको संकेत दिनका लागि पनि पाँचौं पटक नेपाल भ्रमणको योजना बनाएको बताइएको छ ।