Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


‘बलियो एकता, सुरक्षित राष्ट्र’ नारासहित प्रधानसेनापति म्याराथन २०८२ सम्पन्न


78
Shares

काठमाडाैं । नेपाली सेनाको आयोजनामा ‘प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता–२०८२’ शनिवारसम्पन्न भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेल मैदानमा आयोजित विशेष समारोहका बीच प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस ११ औँ संस्करणको प्रतियोगितामा ४२.१९५ किलोमिटरको पुरुष म्याराथन, २१ किलोमिटरको हाफ म्याराथन (महिला-पुरुष) सहित विभिन्न पाँच विधामा प्रतिष्पर्धा भएको थियो । प्रतियोगिताको मुख्य आकर्षण मानिएको म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः ३ लाख, २ लाख र १ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै हाफ म्याराथनतर्फ महिला र पुरुष दुवै विधाका विजेताले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ हात पारेका छन् । १० किलोमिटर र ५ किलोमिटर दौडका विजेताहरूलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।

पाँच किलोमिटर वाकाथनमा प्रधानसेनापति सिग्देल स्वयं सहभागी हुनुभएको थियो भने सैनिक महाविद्यालयका विद्यार्थीले पनि दौड पूरा गरे ।

वि.सं. २०७२ देखि महाशिवरात्री तथा सेना दिवसको अवसर पारेर निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगितामा करिव २ हजार ५ सय धावकहरूको सहभागिता रहेको थियो । यस वर्षको सेना दिवस आगामी फागुन ३ गते मनाइँदैछ ।