Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


आगामी निर्वाचनको सुरक्षाका लागि आजदेखि नेपाली सेना परिचालन


130
Shares

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न बनाउन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार बुधबारदेखि नेपाली सेना परिचालन हुने भएको छ ।

सरकारले यसअघि नै निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको होे । आगामी फागुन २१ गते हुने चुनावलाई केन्द्रित गरी सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालन हुन लागेका हुन् । एकीकृत सुरक्षा योजना अनुसार भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि खटिने भएका छन् । नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्ने भएका छन् । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिने भएको हो। सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको जिम्मेवारी सम्हाल्ने भएको हो।

निर्वाचन प्रयोजनका लागि सेना १ सय ६५ वटै निर्वाचन क्षेत्रमा बुधबारदेखि परिचालित हुने सेनाले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयानुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति गर्नुभएको थियो ।निर्वाचन सुरक्षालाई केन्द्रित गरी आवश्यकताअनुसार सेनाको ‘वेस’ खडा हुने र आवश्यकताका आधारमा संयुक्त गस्ती हुने सेनाका प्रवक्ता एवम् सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभयो । सेनाले त्यसका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।

एकीकृत सुरक्षा योजनाले मार्ग निर्देशन गरे अनुसार मतदानको एक महिना अघिदेखि फिल्डमा सेना परिचालन हुन लागेको हो । उसले मुख्य जिम्मेवारी अनुसार मतपत्र छपाइ, मतपत्र ढुवानी, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी र मतगणनास्थको सुरक्षासम्मको जिम्मेवारी सम्हाल्ने भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय, सहकार्यमा विमानस्थल र कारागार लगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी सेनाले गर्ने भएको हो।