काठमाडौं ।
निर्वाचनको मिति नजिकिएसँगै मतदातादेखि राजनीतिक दलका उम्मेदवारहरुसम्ममा उत्साह छाएको छ ।
उम्मेदवारहरु मतदाता फकाउन घरदैलोमा पुगिरहेका छन् भने मतदाताहरु भने सकेसम्म मत खेरा नजाओस भन्नेमा सचेत देखिएका छ् । तर नेपाली कांग्रेसमा भने टिकट पाएकाहरु निर्वाचनमा होमिंदा टिकट नपाउनेहरु मौन देखिएका छन् ।
कांग्रेसको विशेष महाधिवेशन भन्दा पहिले निवर्तमान सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचन लड्ने पक्कापक्की नै थियो । उनी त्यहाँबाट एकल सिफारिस समेत भएका थिए ।
जेनजी आन्दोलनको मर्म र भावनाअनुसार देउवाका गतिविधि नदेखिएपछि कांग्रेसभित्र विद्रोह भएको थियो । विद्रोहकै कारण विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ नेतृत्व आयो । नयाँ नेतृत्वले देउवालाई निर्वाचनको उम्मेदवार बनाउने निश्चित नै थियो । तर, महाधिवेशनबाट आएको नेतृत्वविरुद्ध निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म धाएपछि देउवाको निर्वाचन लड्ने सपना पनि चकनाचुर भएको छ ।
एकातिर छँदाखाँदाको सभापति पद गुमाउनुको पीडा, अर्कोतिर टिकटसमेत नपाउनुको पीडाले देउवा यतिबेला ठूलो तनावमा छन् । सिंगो पार्टी निर्वाचनमा होमिएका बेला उनी के गर्दैछन्, अत्तोपत्तो छैन । देउवा मात्र होइन, उनको समूहभित्रका धेरै नेताहरुले टिकट पाएका छैनन् । धेरै नेताहरुको टिकट खोसिएपछि अहिले उनीहरु न निर्वाचनका गतिविधिमा सामेल भएका छैनन् ।
देउवा समूहका केही नेताहरु टिकट लिएर चुनावी मैदानमा होमिएका छन् । देउवाका विश्वासपात्र प्रकाशशरण महतदेखि नैनसिंह महरहरु टिकट लिएर चुनावी मैदानमा छन् । देउवा समूहको अर्को तप्का भने सर्वोच्च अदालतको आसमा छ । सर्वोच्चले पार्टीको आधिकारिकता आफूहरुलाई दिनेमा उनीहरु अझै पनि विश्वस्त छन् । यही कुराले पार्टी अहिलेसम्म पनि एकढिक्का हुन सकेको देखिएको छैन ।
निर्वाचनको सम्मुख पार्टी दुई धारमा विभाजित भएपछि पार्टीको अवस्था कमजोर हुने आँकलन गरिएको छ । टिकट नपाएकाहरुले आफ्नै उम्मेदवार हराउन लाग्न सक्ने आशंका पनि बढेको छ । दुबै समूह एक भएर निर्वाचनमा होमिने गतिविधि अघि बढेका छैनन् । यसले पार्टीलाई ठूलो क्षति हुने घट्नाका रुपमा लिइएको छ । मुलुक निर्वाचनमय भइरहेका बेला देउवाको मौनतालाई महत्वका साथ हेरिएको छ । निर्वाचनको सम्मुख पार्टी एकजुट नहुनुले कांग्रेसभित्र चिन्ता बढाएको छ । अन्य दलका नेताहरु एकजुट भएर निर्वाचनमा होमिदा कांग्रेस भने दुई चिरामा विभाजित छ । आगामी निर्वाचनसम्मै पार्टी एकजुट भएन भने त्यसले ठूलो असर पार्नेछ ।





प्रतिक्रिया दिनुहोस्