काठमाडौं। नेपाली कांग्रेसले पार्टीको जनमत बुझ्न प्रदेशगत रूपमा नेताहरूलाई खटाएको छ ।
कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको ‘निर्वाचन परिचालन समिति’ले ७ वटै प्रदेशमा नेताहरूलाई पठाएर जनमत बुझ्ने र बिग्रेको स्थानमा कसरी सुधार्न सकिन्छ भन्ने उपाय पत्ता लगाउन नेताहरूलाई खटाएको हो । अहिले नेताहरूले स्थलगत रूपमा पुगेर गरेको ब्रिफिङपछि प्रचार–प्रसारका क्रममा त्यस अनुसारको रणनीति बनाउने तयारी कांग्रेसको छ ।
सहमहामन्त्री डा.डिला संग्रौला पन्तले निर्वाचन परिचालन समितिले सातै प्रदेशमा नेताहरूलाई पार्टीको जनमत बुझ्न पठाएको र आफू त्यसक्रममा कोशी प्रदेशमा खटिएको बताउनुभएकाे हाे । पार्टीले निर्वाचन परिचालन समितिमार्फत जनमत बुझ्न प्रदेश प्रदेशमा नेताहरूलाई खटाएको उहाँकाे भनाइ छ । उहाँले आफू कोशी प्रदेशमा खटिएकाे समेत जानकारी दिनुभयाे ।
मधेश प्रदेशमा सहमहामन्त्री मुक्ताकुमारी यादवको नेतृत्वमा वर्तमान र निवर्तमान केन्द्रीय सदस्यहरू तथा पूर्वपदाधिकारीहरूले वस्तुस्थिति बुझ्ने काम गरिरहेका छन् । मधेशमा निवर्तमान सहमहामन्त्री महेन्द्र यादव र पूर्वउपसभापति विमलेन्द्र निधि प्रत्यक्षतर्फ निर्वाचन लडिरहेका हुन् । यादव धनुषा–४ र निधि धनुषा–३ मा उम्मेदवार बनेका छन् ।





प्रतिक्रिया दिनुहोस्