
एजेन्सी । विश्वका सबै भन्दा धनी व्यक्ति एलन मस्कका दुई प्रमुख कम्पनी स्पेसएक्स र एक्सएआई गाभ्ने बारेमा छलफल भइरहेको छ ।
समाचार संस्था रोयटर्सले यी दुई कम्पनी गाभिने प्रक्रिया सम्भवतः यसै वर्षभित्र पूरा हुन सक्ने जनाएको हो । यदि यो सम्झौता कार्यान्वयनमा आयो भने एलनका रकेट प्रविधि, स्टारलिङ्क, उपग्रह प्रणाली, सामाजिक सञ्जाल एक्स, ग्रोक एआई तथा च्याटबट लगायत सबै प्रविधि एउटै कम्पनी संरचना अन्तर्गत समेटिने भएका छन् ।
यस कदमले कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा मेटा र ओपनएआई जस्ता कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न मस्कलाई थप बल पुग्ने विश्लेषकहरूको तर्क छ। गाभ्ने प्रक्रियालाई सहज बनाउन दुई नयाँ कम्पनी जनवरी २१ मा दर्ता भएका खबरमा उल्लेख छ । तीमध्ये एक कम्पनीमा स्पेसएक्स र यसको प्रमुख वित्तीय अधिकृत (सीएफओ) ब्रेट जोनसन व्यवस्थापक सदस्यका रूपमा रहेका हुन् ।
प्रस्तावित सम्झौता अनुसार एक्सएआईका शेयरहरू स्पेसएक्सका शेयरसँग साटासाट गरिने भएको हो । तर यो सम्झौता अझै अन्तिम चरणमा पुगिसकेको छैन । अहिले स्पेसएक्स संसारकै सबै भन्दा मूल्यवान् निजी कम्पनी बनेको छ । यसको आन्तरिक शेयर बिक्रीका आधारमा यसको मूल्याङ्कन करिब ८ सय अर्ब अमेरिकी डलर पुगेको छ ।
त्यस्तै, एक्सएआईको मूल्याङ्कन गत नोभेम्बरमा करिब २ सय ३० अर्ब डलर आँकलन भएको थियो । विश्लेषकहरूका अनुसार स्पेस–एआईको प्राथमिक शेयर निष्कासन (आईपीओ) पछि कम्पनीको मूल्य एक ट्रिलियन डलर भन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्