Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


जिम्बाब्वेमाथि नेपालकाे शानदार जित


533
Shares

काठमाडाैं ।

नेपालले जिम्बाब्वेलाई हराउँदै घरेलु मैदानमा जारी आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा पुग्ने सम्भावना जीवन्त राखेको छ ।

कीर्तिपुरमा भएको आफ्नो तेस्रो खेलमा नेपालले शनिबार जिम्बाब्वेमाथि ६ विकेटको जित निकालेको हो । छनोटमा पहिलो जितसँगै नेपालले समूह ‘बी’ बाट सुपर सिक्समा पुग्ने सम्भावना जीवन्त राखेको छ । दुई समूहका शिर्ष तीन राष्ट्र सुपर सिक्समा पुग्ने प्रावधान छ । नेपालले यसअघि दुई खेलमा हार व्यहोरिसकेको थियो ।

त्यसैले सुपर सिक्स पुग्न नेपालले जिम्बाब्वेविरुद्ध जित्नुको विकल्प थिएन । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यो समूहबाट नेदरल्यान्ड्सले सुपर सिक्समा स्थान बनाइसकेको छ । अब नेपालले समूहको अन्तिम खेलमा जनवरी २६ तारिखमा स्कटल्यान्डसँग प्रतिष्पर्धा गर्ने तालिका छ ।

सुपर सिक्समा पुग्न नेपालले अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ । अन्तिम खेलमा नेदरल्यान्ड्सले थाईल्यान्डसँग खेल्नेछ । जुन खेल पनि नेपालका लागि महत्वपूर्ण हुनेछ । त्रिवि क्रिकेट मैदानमा नेपालले एक सय ३० रनको सामान्य लक्ष्य पाएको थियो । तर, त्यो लक्ष्य पूरा गर्न नेपालले पनि संघर्ष गर्नुप¥यो ।

१९.३ ओभरमा नेपालले चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । उपकप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले जित निकाल्यो । उनले अविजित ५२ रनको योगदान गरिन् । ५० बल खेलेकी पूजाले चार चौका र दुई छक्का प्रहार हिर्काइन् । कप्तान इन्दु बर्माले २२ रन र बिन्दु रावलले १५ रनको योगदान दिए । सीता रानामगर ११ रनमा रिटायर्ड हर्ट हुन पुगिन् ।
जिम्बाब्वेले अतिरिक्त २१ रन खर्चिएपछि नेपाललाई सहज भएको थियो । जिम्बाब्वेको बलिङमा जोसिफिन एनकोमोले दुई तथा नोमभोलो सिभान्दा र क्रिस्टाबेल चातोन्ज्वाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाव्वेले २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै एक सय २९ रनको योगफल बनाएको थियो । चौथो नम्बरकी ब्याटर केली एन्डलोभुको ५२ रनको अविजित इनिङ खेल्दै जिम्बाब्वेको इनिङ समालिन् । नेपालकी बलर कविता कुँवरले पहिलो ओभरमै चिपो मुगेरलाई ८ रनमा बोल्ड गर्दै राम्रो सुरुआत दिलाइन् । तर, त्यसपछि बिलोभ्ड बिजाले दोस्रो विकेटका लागि मोडेस्टर मुपाचिक्वासँग ४५ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाइन् ।
ओपनर विलोभ्डले ३४ र मोडेस्टर १४ रनमा आउट भए ।

अन्य ब्याटरले राम्रो खेल्न नसके पनि केलिसले अर्धशतक बनाउँदै इनिङ समालिन् । नेपालको बलिङमा रिया शर्माले चार ओभरमा २५ रन खर्चिँदै दुई विकेट लिए । कविता कुँवर, उपकप्तान पूजा, सीता रानामगर र रुबिना क्षेत्रीको नाममा समान एक विकेट रह्यो ।

जिम्बाव्वे सुपर सिक्सको होडबाट बाहिरिसकेको छ । पछिल्ला तीन खेलमा हार व्यहोरेको जिम्बाब्वे अंकविहीन छ । शनिबारको पहिलो खेलमा स्कटल्यान्डले थाइल्यान्डमाथि पाँच विकेटको जित निकालेको थियो । त्यो नतिजासँगै जिम्बाब्वेको दोस्रो चरण पुग्ने चुनौती सकिएको हो ।